जन्मिँदा स्याउजत्री बच्ची हुर्किएपछि डिस्चार्ज

प्रकाशित मिति:

वासिङ्टन, एजेन्सी। अमेरिकाको एक अस्पतालमा एक बच्चाको जन्म भएको थियो जसलाई विश्वकै सबैभन्दा सानो आकारको बच्चा भएको बताइएको छ। बच्चाको नाम सेबी राखिएको छ। जन्मेको समय बच्चाको तौल एक ठूलो आकारको स्याउसँग बराबर थियो। २०१८ डिसेम्बरमा २३ हप्ता ३ दिनको गर्भपछि नै उनी जन्मेकी थिइन्।

उक्त बच्चा जीवित रहने अपेक्षा अत्यन्त कम थियो त्यसैले बच्चालाई क्यालिफोर्नियास्थित सान डिएगोको सार्प मेरी बर्च अस्पतालमा नियोनेटल इन्टेनसिव केयर युनिटमा राखिएको थियो। चिकित्सकहरूले सेबीका मातापितालाई उनी केही घन्टा मात्रै जीवित रहने बताएका थिए। तर ५ महिनासम्म कडा निगरानीमा राखिएपछि सेबीले सबैलाई गलत सावित गरिदिइन्। अहिले उनी स्वस्थ र साढे २ किलो वजनसहित डिस्चार्ज भएकी छिन्।

जीवनका लागि लडिरहेकी नवजात सेबीको रेखदेख गरिरहेकी नर्सले यस महिना उक्त बच्चा अस्पतालबाट डिस्चार्ज हुनु चमत्कारजस्तै भएको बताइन्। द टिनिएस्ट बेबी रजिस्ट्रीका अनुसार समयभन्दा पहिला जन्मिएका सेबीलाई विश्वको सबैभन्दा सानो नवजात मानेको छ। आयोवा युनिभर्सिटीद्वारा संकलित रेकर्डमा यसअघि सन् २०१५ मा यो कीर्तिमान जर्मनीका एक नवजातको नाममा थियो। उनको तौल २ सय ५२ ग्राम मात्र थियो। यसै वर्षको शुरूवातमा जापानमा एक बच्चा जन्मेको बेलाको तौल २ सय ६८ ग्राम थियो। उनलाई समयभन्दा पहिला जन्मिने सबैभन्दा सानो बालक भएको बताइएको थियो। प्रि–एक्लेमप्सिया भएको पत्ता लागेपछि सेबीकी आमाले प्रसूतिका लागि तय समयभन्दा ३ महिनाअगाडि नै बच्चालाई जन्म दिइन्। प्रि–एक्लेमप्सिया गर्भावस्थाको एक अवस्था हो, जसमा करिब २० हप्तापछि नै रक्तप्रवाह कम हुन्छ, जसका कारण बच्चाले अक्सिजन र पोषक तव पाउँदैन। यस्तोमा आमा र बच्चा दुवैलाई खतरा हुन सक्छ।

अस्पतालद्वारा जारी एक भिडियोमा आमाले यो जन्मलाई ‘आफ्नो जीवनकै सबैभन्दा पीडादायी दिन बताएकी थिइन्। आफ्नो नाम नबताउने शर्तमा आमाले भनिन्– उनी बाँच्दिनन् होला भन्दै म कराइरहेकी थिएँ, किनभने म २३ हप्ताको मात्रै गर्भवती थिएँ। बच्चा यती सानी थिइन् कि, उनको रेखदेख गर्ने कर्मचारीको हत्केलामा उनी अटाउँथिन्।’