शिक्षिकाको कुटाइबाट चौध विद्यार्थी घाइते, एक सातापछि घटना सार्वजनिक

प्रकाशित मिति:

नरेन्द्र केसी /  दाङ – रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट १४ विद्यार्थी घाइते भएका हुन्। घाइते हुनेमा कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी छन्।

उनीहरूमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ। घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातमा गम्भीर चोट लागेको छ। उनीहरूको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ। उनीहरूको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक डा. घनश्याम शर्माले जानकारी दिनुभयो। ‘घाइतेहरूको अनुहार पनि सुन्निएको छ। जोर्नीमा दबाब देखिएकाले सुधार आउन केही दिन लाग्छ।’ –डा. शर्माले बताउनुभयो।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए। आफूहरू लाइन लाग्दै गरेको बेला शिक्षिक पुनले अन्धाधुन्ध लाठी चलाउन शुरु गरेको बालिका भीमकुमारी बाँठाले बताउनुभयो। ‘हामी लाइन लाग्दै थियौं, मिसले किन ढिलो आयौ भनेर हामीमाथि अन्धाधुन्ध लट्ठी प्रहार गर्नुभयो। विद्यार्थी रोइकराई गर्न थालेपछि हेर्न नसकेर अरू सर मिसहरू अफिसतर्फ दौडिनुभयो।’ शिक्षिकाको कुटाइबाट सामान्य घाइते हुनेहरू प्रेम पुन, सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरूणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्ती रहेका छन्। शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुर घर्तीको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीले बताएका छन्।

घटना यही जेठ १२ को हो। वडा अध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र भएका कारण समाचार तत्काल बाहिर नआएको हो। तर जब पीडित पक्ष जानकारी लिएर इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईंसमक्ष आएपछि समाचार बाहिर आएको हो। ‘विद्यार्थीको अवस्था गम्भीर बन्न थालेपछि झण्डै एक सातापछि उपचारमा ल्याइएको छ’ –चापागाईंले भन्नुभयो। दुखाइका कारण रातदिन सताउने र लेख्नपढ्नसमेत नसकेपछि उपचारका लागि ल्याएको अभिभावक प्रताप घर्तीले जानकारी गराउनुभएको छ। – न्युजअफनेपाल