प्रचण्डको अभिव्यक्तिपछि तरंग आएको नेकपा बैठक सोमबार पनि स्थगित

प्रकाशित मिति:

काठमाडौ – सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व आफू र प्रधानमन्त्री रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच ओलोपालो गर्ने सहमति भएको खुलासा गरेयता नेकपामा तरंग आएको छ। उक्त विवाद र पार्टी एकताका विषयमा छलफलका लागि भनेर सोमबारका लागि बोलाइएको नेकपा सचिवालय बैठक नबस्ने भएको हो।

पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डबिच थप गृहकार्य आवश्यक परेकाले आजका लागि बोलाइएको बैठक रोकिएको बताइएको छ । प्रधानमन्त्री ओली भारत गएका बेला हालै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्डले प्रधानमन्त्री पद आलोपालो गर्ने सहमति भएको खुलासा गरेका थिए। त्यसयता दुई अध्यक्षबीच केही असमझदारी भएको विश्लेषण भइरहेका छन्। ओलीले यसलाई पार्टी एकता खलबल्याउने प्रयास भनेका छन्।

यस विषयमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार ओली र प्रचण्डबीच वार्ता भएको थियो। प्रचण्डसँग एक्लै वार्ता गरेका प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि एक्लै छलफल गरेका थिए। बालुवाटारमै अध्यक्षद्वय ओली र दाहालले महासचिव विष्णु पौडेल तथा सचिवालय सदस्य रामबहादुर थापासँग पनि छलफल गरेका छन्। प्रधानमन्त्रीको वार्ता र छलफल पार्टीभित्रको जिम्मेवारी बाँडफाँटमा केन्द्रित रहेको नेताहरूको भनाइ छ। एजेन्डा टुंगोमा पुग्न नसकेकै कारण नेताहरूको कार्यविभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको नेकपा बैठक सरेको सर्‍यै छ। बैठक मंगलबार बस्ने बताइएको छ ।