यमनमा साउदी गठबन्धन सेनाको हवाई आक्रमणमा कम्तिमा २९ बालबालिकाको मृत्यु ,३० भन्दा बढी घाइते

प्रकाशित मिति:

यमनमा साउदी गठबन्धन सेनाको हवाई आक्रमणमा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ । हवाई आक्रमणमा कम्तिमा ३० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय रेडक्रसले बताएको छ ।

यमनको उत्तरी राज्य सादाको दह्यानमा बसको यात्रामा रहेका बालिबालिका माथि आक्रमण भएको बताइएको छ । सादाको दह्यान बजारमा लक्षित गरेर भएको हवाई आक्रमणमा कैयौं बालबालिका प्रभावित भएको रेडक्रसले बताएको बीबीसीले उल्लेख गरेको छ । २९ बालबालिका मारिएसँगै ४८ भन्दा बढी घाइते भएका छन् जसमध्ये ३० बालबालिका रहेका छन् । उनीहरु १५ वर्षभन्दा कम उमेरका रहेको बताइएको छ ।

यमनमा जारी होथी विद्रोह दबाउन साउदी सैन्य गठबन्धनको सहयोगमा यमनको सरकारले आक्रमणहरुलाई जारी राखेको छ । त्यहाँका स्वास्थ्य मन्त्रीले ४३ विद्रोही मारिएको जनाएका छन् । सरकारी पक्षले नागरिकलाई लक्षित नगरिएको दाबी गरेको छ । तर, मानवअधिकार सम्बद्ध समूहहरुले विद्यालय अस्पताल तथा बजारहरुमा लक्षित आक्रमण भइरहेको बताएका छन् ।

यता संयुक्त राष्ट्रसंघका यमनका लागि विशेष प्रतिनिधि पूर्व बेलायती कुटनीतिज्ञ मार्टिन ग्रिफित्स्ले सेप्टेम्बरसम्ममा जेनेभामा सरकार र विद्रोही पक्षबीच वार्ताको योजना बनाएको बीबीसीले जनाएको छ । यमनमा शान्ति वार्ता असफल बन्दै गएको ग्रिफित्स्ले सिरियाको द्वन्द्व जस्तो अवस्था आउन सक्ने बताएका छन् ।