जागरण अभियान प्रभावकारी भएनः सिंह

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरिहेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन् । सोमबार बिहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको भेटघाटमा उनले संघीय संरचनाअनुसार पार्टी विस्तार हुन नसकेका कारण जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका हुन् ।

संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको र पार्टीका नेता–कार्यकर्ताहरुमा निराशा छाएको उनको भनाइ थियो । ‘‘आफैले जारी गरेको संविधान प्रभावकारी रुपमा लागू गराउनु पर्ने अवस्थामा कांग्रेस झनै आफैभित्र अलमलिएको अवस्थामा रहनुले आमलोकतन्त्रवादीहरुमा समेत निराशा छाएको छ,’’ सिंहले भने ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिंग अवस्थामा पुगेको बताए । कांग्रेसलाई बिचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको उनको भनाइ छ । मलुक जटिलतातर्फ अघि बढिरहेकाले कांग्रेसको भूमिका समन्वयकारी हुनुपर्नेमा कांग्रेस आफैंभित्र अलमलिनु बिडम्बना भएको उनले बताए । मुलुकमा रहेका तमाम चुनौतीहरु सामना गर्न सशक्त र प्रभावकारी भूमिका खेल्ने पार्टीको रुपमा कांग्रेस प्रस्तुत हुन नसक्नु दुखद भएको सिंहको टिप्पणी थियो ।