बजेट सिंगो राष्ट्रको हो, कार्यान्वयनमा आम नागरिकले पनि भूमिका खेल्नुपर्छ : पौडेल

प्रकाशित मिति:

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेट सिंगो राष्ट्रको भएकाले कार्यान्वयन गर्न सत्तापक्ष, प्रतिपक्ष मात्र नभएर आम नागरिकको पनि भूमिका रहने बताएका छन् । सोमवार प्रतिनिधि सभामा आर्थिक वर्ष २०७६/७७ को बजेटको राजस्व र व्ययको छलफलमा भाग लिँदै पौडेलले पौडेलले समृद्ध नेपाल सुखी नेपालीको आलोकमा रहेर बजेट आएको र यसलाई कार्यान्वयन गर्न सम्पूर्ण देशवासीको भूमिका हुने बताएका हुन् ।

‘बजेटका पक्षमा आफूलाई दृढतापूर्वक प्रस्तुत गर्न चाहन्छु,’ पौडेलले बजेटका सन्दर्भमा आएका आलोचनाको प्रतिरक्षा गर्दै भने, ‘यस वर्षको बजेट नेपाल सरकारको नीति तथा कार्यक्रमको आलोकमा प्रस्तुत भएको छ । विनियोजन विधेयककै पक्षमा बजेट रहेको मैले पाएको छु । यो बजेट समृद्ध नेपाल सुखी नेपालीको आलोकमा रहेर प्रस्तुत भएको छ ।’ पौडेलले बजेटले यो वर्ष तीव्र आर्थिक वृद्धिको वर्ष हुने निष्कर्ष आघि सारेको टिप्पणी गरे । ‘बजेट ठीक दिशामा अघि बढिरहेको छ, बजेटले उत्पादक शक्तिको विकास र उत्पादन सम्बन्धमा अग्रगामी रुपान्तरण हुने परिकल्पना गरेको छ,’ पौडेलले भने, ‘उच्चतम् प्रतिफल प्राप्त र राष्ट्रिय पूँजीको निर्माण हुने दिशामा बजेट अघि बढेको छ ।’

बजेटले सिँचाइ, जलविद्युत्, राजमार्गजस्ता आयोजनामा पर्याप्त र अन्य आयोजनामा पनि सन्तुलित ढंगले स्रोत विनियोजन गरेको पौडेलको धारणा छ । हुलाकी राजमार्ग निरन्तरको प्रवचनको विषय नबन्ने र व्यावहारिक कार्यान्वयनमा अघि बढ्ने पौडेलले बताए । ‘हुलाकी राजमार्ग, निरन्तरको प्रवचनको विषय होइन, व्यावहारिक कार्यान्वयन्मा अघि बढ्छ,’ उनले भने, ‘यसरी दूरगामी महत्त्वका ठूला आयोजनाहरू अगाडि बढ्ने विश्वास बजेटले लिएको छ । यसबाट अर्थतन्त्र गतिशील हुन्छ र रोजगारीका अवसरहरू सिर्जना हुँदै जानेछन् ।’

बजेटले शिक्षा, स्वास्थ, खानेपानी, सरसफाइमा आम नेपालीको पहुँच र गुणस्तर सुनिश्चित गरेको पौडेलको दाबी छ । ‘म के देख्छु भने पछाडी परेको वर्ग, सामाजिक न्याय सहितको द्रूत आर्थिक विकास, लोककल्याणकारी राज्यको पक्षमा यो बजेट दृढतापूर्वक उभिएको छ,’ पौडेलले सम्बोधनका क्रममा भने, ‘बजेट कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने संकल्पका साथ आएको छ । यसमा आलोचना र टिप्पणी पनि भएका छन्, टिप्पणी गर्ने अधिकारलाई म सम्मान गर्न चाहन्छु । सामाजिक सुरक्षा भत्ता वृद्धिका सन्दर्भमा जुन कोणबाट आलोचना भएका छन्, यदि साँच्ची त्यस्तो हो भने हिम्मत गरेर यहाँ गल्ती भएको छ भनेर कसैले भन्ने आँट गरोस् ।’

विधिको शासन र सुशासनको पक्षमा बजेट उभिएको पौडेलले जिकिर गरे । ‘जुन प्रकारको अन्तरवस्तु छ, कृषि, उद्योग र वनको क्षेत्रमा, आयात र व्यापार घाटा कम गर्न दह्रो कदम चाल्नका लागि बलियो आधार देख्दछु,’ पौडेलले भने, ‘बजेटले राजस्व र नीतिका प्रश्नमा पनि सही र अग्रगामी सोच राखेको म पाउँछु । निर्यात वृद्धि गर्ने र अनावश्यक वस्तुको आयात कम गर्ने नीति हाम्रो देशको हकमा सही छ ।’

बजेटको सफल कार्यान्वयनबाट ८ दशमलव ५ प्रतिशत वृद्धिदर हासिल गर्न सकिने पौडेलले विश्वास व्यक्त गरे । यो बजेटको सफल र प्रभावकारी कार्यान्वयन भयो भने लक्ष्य अनुरुपको वृद्धिदर हासिल हुने र त्योभन्दा अगाडि २ अंकको आर्थिक वृद्धिदर हुने परिस्थितिको सिर्जना हुने पौडेलले दाबी गरे । पौडेलले ५ लाख मात्र होइन, अझ माथिको संख्यामा रोजगारी सिर्जना गर्ने गरी बजेट आएको बताए । ‘५ लाख रोजगारी सिर्जनाको सन्दर्भमा आलोचनाहरू आएका छन् तर यसको प्रभावकारी कार्यान्वयन भएमा ५ लाख मात्र होइन, अझ माथिको संख्यामा रोजगारीको सिर्जना हुन सक्छ,’ पौडेलले भने, ‘समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि यो बजेटले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने मैले देखेको छु । बजेट कार्यान्वयन चुनौतीलाई हामी कसरी समाधान गर्छाैं, यसले निःसन्देह सिंगो राष्ट्रको ध्यानाकर्षण गरेको छ ।’

संवैधानिक व्यवस्था अनुरुप सरकारको अर्थमन्त्रीले प्रस्तुत गरेपनि यो बजेट सिंगो राष्ट्रको रहेको पौडेल तर्क गर्छन् । ‘सरकारको अर्थमन्त्रीको मात्र नभएर सिंगो राष्ट्रको बजेट हो । मलाई लाग्छ, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि उपयुक्त बजेट हो, यसलाई सत्तापक्ष र प्रतिपक्षले मात्र होइन, सिंगो राष्ट्रले प्रभावकारी कार्यान्वय गर्न लाग्नुपर्ने छ, म आग्रह गर्न चाहन्छु । लक्षित उद्देश्यहरू प्राप्त हुनेछन्,’ पौडेलले भने ।