तीन सरकारको समन्वय नभए संघीयता कमजोर हुन्छ : सभामुख घर्ती

प्रकाशित मिति:

२५ साउन,बुटवल ।प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले ंकेन्द्र सरकारको एकात्मक राज्य ब्यबस्था चलाएको ह्यांग अझै नहटेको दाबी गरेका छन् । संघीय प्रणाली ३ पांग्रे नीति अनुसार चलेको भन्दै उनले टेम्पोको उदाहरण समेत दिए ।
‘एउटा पांग्रा बिना टेम्पु चल्न सक्दैन,त्यस्तैगरी स्थानीय,प्रदेश र संघगरि ३ वटा सरकारको एक अर्कासंग समन्वय नभए संघीयता कमजोर हुन्छ ।’ उनले भने ।
प्रदेश र केन्द्रबिच अधिकारका बिषयमा पनि केहि जटिलताहरु देखिएका छन् यस्लाई छलफलका माध्यमबाट हल गर्नुपर्ने उनको तर्क छ ।
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालयद्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख घर्तीले बांझो बारीको डल्लो फुटाउने कोशीशमा रहेको प्रष्ट पारे ।
‘हामी संघीयता कार्यान्वयन शुन्यबाट शुरु गरेका हौं,यो बांझो बारीको डल्लो फुटाउने काम जस्तै जटिल हो,संघीय ब्यवस्थालाइ ब्यबस्थित र कार्यान्वयन गर्ने कोशीश गरेका छौं ’ उनले भने ।
उनले आफुहरुका बिचमा केहि सकारात्मक चुनौतीहरु रहेको भन्दै तत्कालका लागि २ वटा दायित्व निर्बाह गर्नुपर्ने बताए ।
सभामुख घर्तीले भने—‘तत्कालका लागि प्रदेश कानुन निर्माण गर्न जरुरी त्यसपछि हामी बिकास निर्माणका काम पनि अघि बढाउनुपर्ने दायित्व छ ।’
उनले मुख्य बिषयमा जोड दिन नसकिए संघीयता अलमल हुने बताए । संबिधान कार्यान्वयनमा सबैलाग्न जरुरी रहेको उनको भनाइ छ ।
महंगी नियन्त्रण र जनताको जीवनस्तर उकास्न प्रदेश सरकारले काम गर्नुपर्ने उनको भनाइ छ ।
‘अब आर्थिक क्रान्ति जरुरी छ,राजनीतिक मुद्धाहरु अब धेरै छैनन ।’उनले सुनाए ।
प्रदेशको राजधानी र नामाकरण संघीयताको मर्ममा केन्द्रित रहेर हुन्छ
प्रदेश राजधानी र नामको अन्तिम टुंगो संसदले नै लगाउने भन्दै सभामुख घर्तीले १५ सदस्यिय समितिले प्रतिबेदन तयार गर्ने बताए ।
उनले अगाडि भने— ‘प्रदेशको राजधानी वा नामाकरणको बेला संघीयताको मर्ममा केन्द्रित रहेर हुनुपर्छ ,अमुख दल अमुख क्षेत्रको पक्षमा होइन,हुदैन । अब यो गुनासो र संघर्षको बिषय बन्दैन ।’
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा ब्याख्या भएपनि अहिले सर्बोच्चमा बिचाराधीन अबस्थामा मुद्धा रहेकाले केहि बोल्न नमिल्ने बताए ।
यो बिषय एमाले र माओबादी एकतापछि मात्रै उब्जिएको समस्या भएको भन्दै उनले न्यायालयले नै निर्णय गर्ने बताए ।
प्रदेशसभाले पहिलो र दोश्रँे अधिबेशनबाट १५ वटा बिधेयक पास गरेको र प्रदेश लोकसेवा आयोगको बिधेयक समितिमा अड्किएको जानकारी समेत दिए ।
प्रदेश ५ मा ५५ पुरुष र ३२ महिला गरि ८७ जना प्रदेश सांसद रहेका छन् ।
माघ २१, २०७४ बाट शुरु भएको पहिलो अधिबेशन २०७५ बैसाख ३१ सम्म र दोश्रँे अधिबेशन साउन २४ गते अन्त्य भएको थियो ।
रिपोटर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।
सोहि अबसरमा बिभिन्न राष्ट्रिय मिडियाका प्रदेश ब्युरो प्रमुखहरुलाइ टीका तथा खादा ओढाएर सम्मान गरिएको थियो ।
गोरखापत्रका प्रदेश ५ ब्युरो छबि पाण्डे,कान्तिपुरका प्रदेश ५ ब्युरो प्रमुख दीपेन्द्र बडुवाल र अन्नपूर्ण पोेष्टका प्रदेश ५ ब्युरो प्रमुख लक्ष्मण पोखरेललाइ सम्मान गरिएको थियो ।