मंगलवारदेखि गोसाइँकुण्डमा मेला

प्रकाशित मिति:

रसुवा – गङ्गादशहरा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डमा मेला व्यवस्थित गर्न सबै तयारी पूरा गरिएको छ । गोाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको पैदलमार्गमा सफाइ र स्वास्थ्य शिविरको व्यवस्था मिलाइएको छ । सो पर्वको अवसरमा पाँच हजार भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमानका साथ यथेष्ठ भोजन र बासको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायीलाई आग्रह गरिसकिएको बताइएको छ ।

यसवर्ष गङ्गादशहरा मेला यही जेठ २१ गतेदेखि २९ गतेसम्म चल्ने र दशयोग जोडिएको दिनलाई दशहरा पर्व मानिएकाले गोसाइँकुण्डमा स्नान गर्दा अञ्जानमा भएका सबै पापबाट मोक्ष मिल्ने स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए । उक्त पर्वका अवसरमा गोसाइँकुण्ड जाने भक्तजनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले नेपाली सेना र स्वास्थ्य कार्यालयको समन्वयमा ठाउँ ठाउँमा स्वास्थ्य शिविर राखिने जानकारी दिए ।

काठमाडौंदेखि धुञ्चेसम्म आठ घण्टा मोटरमा र त्यसपछि पैदलयात्रा शुरु हुने धार्मिक पदमार्गमा सुसाउँदै झरेकी त्रिशूली नदी, उकाली भञ्ज्याङ चौतारी, चन्दनबारी र आधार इलाकामा भेटिने चौरीगाई, विविध वनस्पति र लौरीबिनायक टापुबाट देखिने पश्चिम क्षेत्रको अल्का हिमालले भक्तजनलाई मनमोहक बनाउँछ । जीवनमा एक पटक गोसाइँकुण्ड पुग्नैपर्ने मान्यता रहेकाले पनि यही जेठ २१ गते देखि २९ गतेसम्म आयोजना हुने मेलामा पाँच हजार भन्दाबढी भक्तजन आउने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले बताए ।

मेला भर्न आउने भक्तजनले चिताएको पुग्ने, घरपरिवारमा सुख हुने, सन्तानको चाहना पूरा हुने र रोग नलाग्ने विश्वासका साथ यहाँ वर्षेनी भक्तजनको भिड लाग्ने गरेको पूरोहित ढकालको भनाइ थियो । समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित यो पवित्रतीर्थस्थल बौद्ध तथा तथा हिन्दू दुवैको साझा धार्मिक थलो भएकाले लामा झाँक्रीको बाजागाजा र स्थानीय भेषभूषाले यो पर्वलाई झन् रौनक बढाएको पाइन्छ ।