कांग्रेस अर्को निर्वाचनमा बिजय हुन्छ : प्रवक्ता शर्मा

प्रकाशित मिति:

                                                               ♦पत्रकाहरुले प्राप्त गरेको प्रेस स्वतन्त्रता कसैले दिएको पेवा होइन 

गुल्मी – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा प्रेसको कलम बन्द गरियो भने देशको शासन सत्ता र राजनीति कहिल्यै बदलिन नसक्ने दाबी गर्नु भएको छ । तरवार पित्तलको होस वा सुनको होस् तर त्यसले दिने चोट भनेको एउटै हुने भन्दै प्रवक्ता शर्माले पत्रकाहरुले प्राप्त गरेको प्रेस स्वतन्त्रता कसैले दिएको पेवा नभएको बताउनु भयो ।

नेपाली कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत सोमबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ गुल्मीले संयुक्त रुपमा सदरमुकाम तम्घासमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्ताे बताउनु भएको हो । उहाँले राजनीतिमा थुप्रै खराबी र कमी कमजोरी हुन सक्छन् र त्यसलाई औँल्याउन पत्रकारकाे प्रमुख भूमिका रहने बताउनुभयाे । यस्तै पत्रकारहरुले त्यस्ता विषय औंँल्याउन पाएनन् भने राजनीति र समाज सुध्रिन नसक्ने तर्क समेत उहाँले गर्नुभयो ।

शर्माले भन्नुभयाे, ‘प्रेस स्वतन्त्रता कांग्रेस र कम्यूनिष्टले दया गरेर दिएको होइन, यो डेकेन्द्र, विरेन्द्रलगायतका दर्जनौ पत्रकारहरुले रगत बगाएर आएको हो ।’ प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस सधै दृढताका साथ उभिएको भन्दै त्यही भावना, चाहना र बलिदानलाई सम्मान गरेर आफूहरु अघि बढ्ने समेत बताउनु भयो । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत, नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलगायतका वक्ताहरुले नेपाली कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियानले गाउँगाउँका कांगेस जनमा नयाँ उर्जा थपिएको बताउनु भएको छ ।