भीरकोट नगरपालिकाले गर्यो बसपार्क सञ्चालन, २ सय ५० सवारी पार्किङक गर्न सकिने

प्रकाशित मिति:

कला राना स्याङ्जा स्याङ्जाको भीरकोट नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याएको छ । वडा नं। १ सिसौघारी स्थित १० वर्षको लागि जग्गा भाडामा लिएर नगरपालिकाले सानाठुला गरी ढाईसय सवारी पार्किङ क्षमताको बसपार्क सञ्चालनमा ल्याएको हो ।

बसपार्कको सुभारम्भ गर्नुहुँदै भीरकोट नगरप्रमुख छायाराम खनालले सभ्यता सिकेर अंगिकार गर्दै सभ्य समाज तथा समृद्ध नगर निर्माणमा लाग्नुपर्ने बताउनुभयो । बढ्दो बजारीकरण संगै बजारलाई व्यवस्थित गर्न बसपार्कको आवश्यकता रहेको भन्दै नगरले भाडामा बसपार्क सञ्चालनमा ल्याएको प्रमुख खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “साघुरो सडकमा सडकको दायाँबायाँ पार्किङ गर्दा दुर्घटनाको जोखिम, बजारको सुन्दरता नरहने, बजार व्यवस्थित नहुँने विभिन्न समस्याको समाधान स्वरुप बसपार्क सञ्चालनमा ल्याउन सफल भएको छौँ ।” बसपार्कको सहि सदुपयोग गरी सु्न्दर र नमुना भीरकोट निर्माणका लागि सरोकारवाला सबैले सहयोग गर्नुपर्ने प्रमुख खनालको भनाई ।

कार्यक्रममा उपप्रमुख सिमा केसी कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर कमिटि अध्यक्ष मिनप्रसाद कोईराला, कागे्रसका नगरसभापति तोयनाथ अर्याल, भीरकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जगदिश कोईराला, जिल्ला ट्राफिक प्रमुख रेशम रानाभाट लगायतले बोल्नुभएको थियो । नगरप्रमुख खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मी र स्वागत वडा नं। २ का अध्यक्ष कमल त्रिपाठीले गर्नुभएको थियो ।भाडामा सञ्चालित बसपार्क ११ लाख २० हजारको लागतमा निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । यसैगरी बसपार्कमा पार्किङ दरभाउरेट कायम गरीएको छ । स्काभेटर, लोडर, डोजर प्रतिघण्टा ४० रुपैँया, प्रतिदिन १५० र महिनाभरीका लागी ४ हजार, बस, ट्रक, टिप्पर, ट्याक्टर प्रतिघण्टा ३० रुपैँया, प्रतिदिन १२० र महिनाभरीका लागी ३ हजार, जिप, कार, भ्यान, टेम्पो प्रतिघण्टा २०, प्रतिदिन १०० र महिनाभरीका लागी २ हजार दरभाउ कायम गरिएको छ । (आधिखोला खबर बाट)