पहिरोमा पुरिएका गोबिन्दको शव ५ दिनपछि फेला

प्रकाशित मिति:

जाजरकोट – पाँच दिनअघि जाजरकोट सदरमुकाम खलंगाको ठाँटीबजारस्थित पानी नाउला जाने बाटोमा पहिरोले दुई घर पुरिदा बेपत्ता भएका १३ वर्षीय बालक गोबिन्द परियारको शव शुक्रबार (आज) बिहान साढे एघार बजे फेला परेको छ।

पहिरोमा परी मृत्यु भएका अन्य ८ जनाको शव आइतबार नै भेटिएपनि गोबिन्दको शव भने भेटिएको थिएन। योसँगै पहिलोमा परि मृत्यु हुनेको संख्या ९ पुगेको छ। एक जना अझै घाइते छन्। स्थानीय गोपाल सुनारको घरमा दिदी सर्मिलासँगै भाडामा बस्दै आएका बुवा आमा दुबै नभएका गोबिन्द स्कुलको गृहकार्य गर्ने क्रममा घरमाथिबाट आएको पहिरोमा परी आइतबार बिहान साढे सात बजे पुरिएका थिए।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको ५ दिने  कठोर प्रयासपछि गोबिन्दको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रबिन्द्रबहादुर सिंहले बताए। पहिरोमा परी गोबिन्दका कान्छा भाई ८ वर्षीय दशरथ परियार र अन्य  दुई जना बालकहरू १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियारको मृत्यु भएको थियो।  सोहि स्थानमा पत्रकार तिर्थराज बोहराको घर पुरिँदा २५ वर्षीया सितला लुहार र उनकी ९ वर्षीया छोरी भगवती, ६ वर्षीया रन्जना र ३ वर्षीया मनिषाको पनि ज्यान गएको थियो।

गोबिन्द र दशरथको मृत्युपछि उनीहरूका दुई दाजुहरू रामचन्द्र र सुरेन्द्र तथा दुई दिदी सर्मिला र सुरितालाइ  दैनिक जीवन गुजारा गर्न समस्या परेको छ। दुई वर्षअघि बुवा आमा दुबैको मृत्यु भएपछि उनीहरू बिचल्लीमा परेका थिए।

नागरिक दैनिकमा छापिएको समाचारकै कारण अष्ट्रेलियामा बस्ने नेपाली सुरेन्द्र सापकोटाले गोबिन्दका भाई र बहिनीको लागी माशिक १० हजार सहयोग गर्दै आएका छन्। सोहि रकमले उनीहरू खलंगामा कोठा भाडा लिएर बस्दै आएका थिए।

मृतक पीडित परिवारहरूलाई केन्द्र सरकारले प्रति मृतकका परिवार १ लाख, कर्णाली प्रदेश सरकारका तर्फबाट २५ हजार, भेरी नगरपालिकाका तर्फबाट ३० हजारका दरले  राहत रकम वितरण भइसकेको छ।