संस्कृत विद्याप्रति विद्यार्थीको आकर्षण बढ्दै

प्रकाशित मिति:

प्रताप बानियाँ/म्याग्दी – विगत केही समयदेखि हराउँदै गएको संस्कृत विद्याप्रति पछिल्लो समयमा भने यसको अध्ययनतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै जान थालेको छ । समाजमा हुने विभिन्न किसिमका धार्मिक कार्यहरु खासगरी पुजापाठमा ब्राह्मण र पुरेतहरुको उपस्थिति घट्दै गएको अवस्थामा संस्कृति विषयप्रति विद्यार्थीको आकर्षण बढेको हो । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरधाम परिसरमा सञ्चालन गरिएको शालग्राम गण्डकी वेद विद्याश्रममा पछिल्लोपटक विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषद्वारा सञ्चालन गरिएको संस्कृत विद्यालयमा बसेर संस्कृत तथा आधुनिक विषय अध्ययन गर्नका लागि म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु आएका छन् ।

शालग्राम कालीगण्डकी वेद विद्याश्रमका प्रधानाचार्य चिरञ्जीवी आचार्यले दिएको जानकारी अनुसार उक्त विद्यालयमा हाल २८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्याश्रमको ६ कक्षामा १२ जना, ७ कक्षामा ८ र कक्षा ८ मा पनि ८ जना विद्यार्थीहरुले संस्कृतसहित आधुनिक विषयहरु अध्ययन गर्दै आइरहेको उनले जानकारी दिए । उक्त वेद विद्याश्रममा मुगु जिल्लाबाट २, रामेछापबाट २, पाँचथर, पर्वत र स्याङ्जाबाट एकएक जना र बाँकी सबै म्याग्दी जिल्लाका विद्यार्थीहरु अध्ययनमा सहभागी भएका छन् । सनातन÷वैदिक धर्मको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको विद्याश्रममा संस्कृततर्फ संस्कृत व्याकरण, शुक्लयोजुर्वेद, संस्कृत भाषा र कर्मकाण्ड विषय रहेको छ । यसैगरी आधुनिक विषयतर्फ नेपाली, सामाजिक, अंग्रेजी र गणित विषयको अध्ययन अध्यापन भैरहेको प्रधानाचार्य आचार्यले बताए । उनका अनुसार मुख्य विषय भने संस्कृतलाई नै जोड दिइएको छ ।

वेद विद्याश्रममा अध्ययनरत सबै विद्यार्थीलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट निःशुल्क रुपमा आवासीय सुविधासहित अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै अध्यापनरत ३ जना शिक्षकको तलब पनि क्षेत्र विकास कोषले नै बेहोर्दै आइरहेको छ । शालग्राम वेद विद्याश्रममा चालु शैक्षिक सत्र २०७६ सालको बैशाख महिनादेखि कक्षा ८ सञ्चालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिएका छन् ।

विगतमा संस्कृत विद्यालय सञ्चालन गरिएको भए पनि बिचको समयमा आएर केही समय बन्द भएपछि २०७३ सालबाट पुनः संस्कृत अध्ययन गराउने उद्देश्यका साथ गलेश्वरमा वेद विद्याश्रम सुरु गरिएको थियो । गलेश्वर मन्दिर परिसरमा केही समययता विभिन्न पूर्वाधारहरु समेत थपिएका छन् । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिरको चौतर्फी विकासका लागि क्षेत्र विकास कोषबाट आवश्यक पहल थालिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

उनले गलेश्वर क्षेत्रमा पछिल्लो समयमा संस्कृत विद्याश्रमका साथै नटराजसहित विभिन्न देवीदेवताका मुर्तिहरु स्थापना गर्ने, मन्दिरमा अन्य भौतिक संरचना थप्ने, प्रचारप्रसारमा जोड दिइने जस्ता कामहरु गरिएको बताएका छन् । भारतसहित तेस्रो मुलुकबाट भक्तजनहरु आउने गरेको गलेश्वर मन्दिरको थप विकासका लागि स्थानीय तहले ध्यान दिनुपर्ने उनको भनाइ छ । – न्युजअफनेपाल