कोरियाका मुख्य सहरमा कुकुरको मासु बिक्री गर्ने पसलहरू बन्द गरिँदै

प्रकाशित मिति:

कोरिया –  पशु अधिकारवादीहरूको चर्को आलोचनापछि कोरियाका मुख्य सहरमा रहेका कुकुरको मासु बिक्री गरिने पसलहरू बन्द गर्न सुरु गरिएको छ। उनीहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै कोरियाको दोस्रो ठूलो सहर बुसानमा कुकुरको मासु बेच्ने मूख्य पसलहरू आगामी महिनादेखि बन्द गर्न लागिएको बुसानस्थित प्रान्तीय कार्यालयलाई उद्धृत गर्दै कोरिया टाइम्सले जनाएको छ।

कार्यालयका अनुसार आगामी महिना जुलाई ११ देखि बुसानको मुख्य सहरमा रहेका १९ ओटा मासु पसल बन्द गर्न लागिएको हो। उक्त व्यवसायमा संलग्न व्यवसायीहरूलाई अन्य व्यवसायमा लाग्न त्यहाँको जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ। जसअनुसार आगामी वर्ष सन् २०२० को डिसेम्बर महिनासम्म कार्यालयले प्रतिव्यवसायी मासिक २७ सय अमेरिकी डलरका दरले सहयोग गर्ने गरी सम्झौता समेत भएको उल्लेख छ।

कोरियामा क्रियाशील पशु अधिकारवादीहरूले कोरिया सरकारको उक्त योजनाको विज्ञप्ति प्रकाशित गर्दै स्वागत गरेका छन्। ‘हामी सबै पशुअधिकारवादीहरूले कोरियामा कुकुरको मासु बेच्ने व्यवसायको अन्त्य गर्न लागिएको सरकारी योजनाको हृदयदेखि स्वागत गर्न चाहन्छौं,’ पशु अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ। बुसानमा कुकुरको मासु बिक्री गर्ने मूख्य पसलहरू बन्द गर्ने निर्णय हुनु पशुअधिकारका क्षेत्रमा ठूलो उपलब्धि भएको भन्दै देशका अन्य सहरमा पनि यो अभियानलाई निरन्तरता दिन सरकारलाई दबाब दिइरहने उनीहरूको भनाइ छ।