राजादेखि विप्लवसहितको गोलमेच सम्मेलन गरौं : कमल थापा

प्रकाशित मिति:

बुटवल-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विप्लवसमेतको सहभागितामा गोलमेच सम्मेलन गर्न आवश्यक रहेको बताएका छन् ।राप्रपा प्रदेश नम्बर पाँचको कार्यालय मंगलवार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष थापाले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहदेखि राजासम्म अट्ने गरी गोलमेच सम्मेलन गरी स्थायी राजनीतिक प्रणाली स्थापना गर्न आवश्यक देखिएको बताए ।

मुलुकलाई फेरि द्वन्द्वमा फस्नबाट बचाउन राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्न गोलमेच सम्मेलन गर्न आवश्यक रहेको अध्यक्ष थापाले तर्क गरे । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले नेपाल धर्मनिरपेक्ष घोषणा भएपछि विश्वकै १ नम्बरमा इसाइकरण हुने मुलुक बन्न पुगेको दाबी गरे । र मुलुक धार्मिक द्वन्द्वमा जाने खतरा देखिएको बताए । मुलुकमा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र आएपछि गरीबी र बेरोजगारी, भ्रष्टाचार, धर्म र संस्कृतिमाथि आक्रमण, राष्ट्र विखण्डनको चुनौती, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, नयाँ रूपमा माओवादी शक्तिको पुनःउत्थान मुलुकमा नयाँ चुनौती देखिएको दाबी गरे ।

उनले सरकारले हालै ल्याएको बजेट आफ्ना नेता कार्यकतालाई पोस्ने वितरणमुखी भएको दावी समेत गरे । कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले राष्ट्रवादी शक्ति मिल्नुको विकल्प नभएको बताए । त्यस्तै पार्टीका उपाध्यक्ष प्रेमबहादुर भण्डारीले सरकार सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । त्यस्तै महामन्त्री डा. धवलशमशेर राणाले राष्ट्रवादी शक्तिहरू मिल्नुको विकल्प नभएको बताए । राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले संगठन विस्तारमा लागेर आउने निर्वाचनमा पार्टीलाई भारी बहुमतका साथ विजयी गराउने गरी लाग्न कार्यकताहरूलाई आग्रह गरे ।