‘प्रेमगीत ३’ सँग ‘भद्रगोल’ टिमको ‘फनफनी’ भिड्ने

प्रकाशित मिति:

काठमाडौँ -नयाँ वर्ष नेपाली फिल्म रिलिजका लागि उत्तम समय मानिन्छ । यसैले पनि हरेक वर्ष नयाँ वर्षलाई लक्षित गरेर दुईभन्दा बढी ठूला फिल्म रिलिज हुने गरेका छन् । गएको नयाँ वर्षमा पनि अभिनेता अनमोल केसीको ए मेरो हजुर ३ु र अभिनेता सलिनमान बनियाँको यात्रा एकसाथ प्रदर्शनमा आएका थिए । आउँदो नयाँ वर्षमा पनि ठूला फिल्मको भाले जुधाई हुने देखिएको छ ।
छायांकन सुरु नहुँदै अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शन मिति नयाँ वर्षलाई लक्षित गर्दै चैत २८ गतेलाई घोषणा गरिएको छ । अहिले निर्माण टिम गीतु को भूमिकाका लागि अभिनेत्रीकोे खोजीमा छ । २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । ब्रान्ड बनिसकेको ‘प्रेमगीत’ को तेस्रो सिरिजसँग चैत २८ मा भिडन्त गर्न अहिलेसम्म कुनै फिल्म अगाडि सरेका छैनन् । तर, यो फिल्मले सोलो प्रदर्शनको अवसर पाउन भने मुश्किल छ । गोप्य स्रोतले दिएको जानकारी अनुसार, ‘प्रेमगीत ३’ ले तोकेको मितिमा हास्य टेलिसिरियल ‘भद्रगोल’ टिमले निर्माण गर्न लागेको फिल्म ‘फनफनी’ प्रदर्शनमा आउने लगभग निश्चित जस्तै छ । तर, निर्माण टिमले आधिकारिक घोषणा भने गरेको छैन ।

निर्देशक निश्चल बस्नेतले क्याप्टेनसिपु बाट हात झिकेपछि यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । अब, यस फिल्मलाई ‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्ने सम्भावना छ । उनले फिल्मको स्क्रिप्ट मन पराएका छन् । तर, अनुबन्ध भने भएका छैनन् । ‘फनफनी’ मा निश्चलसँगै महँगो पारिश्रमिक बुझेर प्रमुख भूमिकामा अभिनेता विपिन कार्की पनि अनुबन्ध भएका थिए । तर, उनी फिल्मलाई लिएर मौन छन् ।निर्देशक अशोक शर्माको फिल्म ‘रातो टिका निधारमा’ सँग कथा मिल्दोजुल्दो भएपछि आपसी सहमतीमा ‘भद्रगोल’ का कलाकार द्वय कुमार कट्टेल र अर्जुन घिमिरेले ‘फनफनी’ को कथामा केही परिवर्तन गरेका छन् । अब, चाँडै फिल्मको छायांकन सुरु गर्ने तयारीमा उनीहरु छन् । फिल्मको कथा कुमार र अर्जुनले मिलेर लेखेका हुन् । ‘भद्रगोल’ का प्रमुख कलाकारहरुकै फिल्ममा अभिनय रहने बताइएको छ ।