नेपाल प्रेस यूनियनले अन्तरराष्ट्रिय मिडिया मिसन बोलाउने

प्रकाशित मिति:

काठमाडौं – सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धि विधेयकविरुद्ध आन्दोलनरत नेपाल प्रेस यूनियनले अन्तरराष्ट्रिय मिडिया मिसन बोलाउने तयारी गरेको छ । सरकार कानुन नै बनाएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न उद्दत रहेको भन्दै प्रेस यूनियनले मिसनका लागि अन्तरराष्ट्रिय पत्रकार महासंघ (आइएएफजे) लाई गुहार्ने तयारी गरेको हो ।

बुधबार शंखमूलमा आयोजित छलफल कार्यक्रममा यूनियनका अध्यक्ष बद्री सिग्देलले सरकार संविधानविपरीत पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्न लागेकाले अन्तरराष्ट्रिय मिडिया मिसन बोलाउन आवश्यक देखिएको बताए । उनले ट्युनिसियामा आयोजना हुन गइरहेको आईएफजेको विश्व सम्मेलनमा नेपालको पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा धारणा राख्ने बताए ।

जुन ११ देखि १४ सम्म ट्युनिसियाको राजधानी ट्युनिसमा आईएफजेको ३० औं विश्व सम्मेलन हुन गइरहेको छ । सम्मेलनमा सहभागी हुन अध्यक्ष सिग्देलसँगै उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी ट्युनिसिया जाने भएका छन् । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक, विधेयकको विरोधमा जारी आन्दोलन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उठाउनुपर्ने कदमका बारेमा छलफल गर्न यूनियनले अन्तरक्रिया कार्यक्रम गरेको थियो । अन्तरक्रियाका क्रममा आएका सुझाव अनुसार यूनियनले आईएफजेको विश्व सम्मेलनमा धारणा राख्ने अध्यक्ष सिग्देलले प्रतिवद्धता जनाए । अन्तरक्रियामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले कानुननै बनाएर सरकारले मिडियामाथि नियन्त्रण गर्न खोज्नु लोकतन्त्रको मर्मविपरित भएको बताए । उनले राज्य पक्षबाटै मिडियामा ‘थ्रेट’ बढेको विषय विश्व सम्मेलनमा उठाइनुपर्नेमा जोड दिए ।

‘‘मिडियामाथिको थ्रेट स्टेट पक्षबाटै बढ्न थाल्यो । सेन्सरसिप बढ्ने खतरा छ, सरकारी मिडियामा स्टेटले नै सेन्सरसिप लगाइसकेको छ । प्राइभेट सेक्टरमा पनि खतरा छ । सरकारले कानुननै बनाएर मिडियामाथि नियन्त्रण गर्न खोजिरहेको छ,’’ उनले विश्व सम्मेलनमा यूनियनले उठाउनपर्ने विषयका बारेमा सल्लाह दिँदै भने, ‘‘आईएफजेसामु ज्ञानेन्द्रको पालामा गरेको सहयोग फेरि चाहिएको छ भनेर राख्नुपर्दछ ।’’

यस्तै महासंघका उपाध्यक्ष विपुल पोखरेलले राज्यले कानुन बनाएरै मिडियामाथि आक्रमणमा उत्रिनु खेदजनक भएको बताए । उनले राज्य, सन्काहा जनप्रतिनिधि र विचौलियाहरुबाट पत्रकारिता क्षेत्रमाथि खतरा बढेको बताए । उपाध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्रमाथि बढेको खतरा न्यून गर्नका लागि आईएफजेलाई मिसनसहित नेपाल बोलाउन यूनियनसँग आग्रह गरे । ‘‘पत्रकारिता क्षेत्र कति असुरक्षित छ भन्ने कुरा विभिन्न घटनाक्रमले देखाएका छन्,’’ उनले भने, ‘‘यि तीन (राज्य, सन्काहा जनप्रतिनिधि र विचौलिया) बाट तत्काल पत्रकारिता क्षेत्र जोगाउन आईएफजेलाई नेपाल आउने वातावरण बनाउन यूनियनले पहल गर्नुपर्छ ।’’