केटी भगाएको निहुंमा घरमा क्षती

प्रकाशित मिति:

छोरी भगाएको निहुँमा कपिलवस्तुमा ठूलो संख्यामा गएको हूलले केटाको घरमा तोडफोड गरी क्षति पु¥याएको छ । जिल्लाको महराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा पसी समूहले तोडफोड गरी भौतिक सम्पत्ति नोक्सान गरेको हो । घरेलु हातहतियार, लाठी, भालासहित एकसय बढीको संख्यामा गएको हुलले साहिलको घरभित्र पसी भाँडाकुँडा, खाद्यान्न, पम्पसेट लगायतका सामान तोडफोड र नोक्सान गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । घरभित्र राखेको माटोको भकारी तोडफोड गरी धान, चामल लगायतका खाद्य सामग्री नोक्सान गरिदिएको प्रहरीले बताएको छ । समूहले नगद, सुन, चाँदी समेत लुटेको पीडितले जनाएका छन् । तोडफोडबाट झण्डै ३ लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । तोडफोडमा संलग्न ९ जनालाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।
दुई दिनअघि महराजगञ्ज नगरपालिका ६, जिग्नाकी १८ वर्षीय शीला कुर्मी र महराजगञ्ज ७, लेङ्गडाका ३० वर्षे साहिल मुसलमान मन मिलेर भागेपछि केटी पक्षले यस्तो उद्धन्द मच्चाएको प्रहरीले जनाएको छ । घरबाट भागेका केटा र केटी दुवै अहिलेसम्म परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।