वातावरण पत्रकारिता पुरस्कार पाण्डेलाई

प्रकाशित मिति:

बुटवल । विश्व वातावरण दिवसको अवसरमा रुपन्देहीमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७५ वितरण गरिएको छ । भैरहवाका अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले स्थापना गरेको पुरस्कार पत्रकार छवि पाण्डेलाई प्रदान गरिएको हो । तीन दशकदेखि पत्रकारिता गरिरहेका पाण्डे गोरखापत्र दैनिकका बुटवल संवाददाता हुन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा हरेक वर्ष वितरण हुने उक्त पुरस्कारको रकम २५ हजार रुपैयां रहेको छ ।

संविधानसभा सदस्य एवं पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष विनोद पहाडीले पुरस्कार प्रदान गर्दै वातावरणको विषय मानव स्वास्थ्य र प्राणी जगतसंग जोडिएकाले यसलाई सञ्चारमाध्यमहरुले प्राथमिकतामा पार्नुपर्नेमा जोड दिए । पुरस्कारको स्थापनाकर्ता नारायण सापकोटाले वातावरण विनाश र जलवायू परिवर्तनले पारेको असर न्यूनिकरणमा कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरेको बताए । वातावरण बचाउ आन्दोलनका अध्यक्ष समेत रहेका सापकोटाले ५० हजार राशीको उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार समेत स्थापना गरेका छन् । पुरस्कार वितरण समारोहमा पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष बालकृष्ण चापागाई, डिभिजन वन कार्यालय रुपन्देहीका अधिकृत अभिमन्यु केसी,पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दिनेश पाण्डेले बोल्दै वातावरणको विषय विश्वव्यापी चुनौति र समस्याको रुपमा रहेकाले सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।