पत्रकारमाथि धावा बोल्ने मेयरलाई कारवाही होस् : पौडेल

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले इटहरी उपमहानगरपालिकाका मेयर (प्रमुख) द्वारिकलाल चौधरीमाथि तत्काल कानुनी कारवाहीको माग गरेका छन् । उनले बुधबार ट्विट गर्दै पत्रकारमाथि धावा बोल्ने मेयर चौधरीमाथि कारवाहीको माग गरेका हुन् ।

नेता पौडेलले लोकतन्त्रप्रति प्रतिवद्ध रहेको देखाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मेयर चौधरीलाई कारवाही गर्नुपर्ने जिकिर पनि गरेका छन् । ‘‘अराजक भएर विधिका विरुद्ध ललकार्ने, पत्रकारमाथि धावा बोल्ने, जनप्रतिनिधि भएर आफ्नो मर्यादा राख्न नसक्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कानुनी कारवाही होस्,’’ उनले ट्विट गर्दै भनेका छन्, ‘‘आत्मालोचना होइन, लोकतन्त्रप्रति प्रतिबद्ध पार्टीले यस्तो धृष्टता गर्नेलाई कारवाही गरोस् ।’’ मेयर चौधरीले स्थानीय पत्रकार विराट अनुपमलाई कुटपिट गर्ने धम्की दिएको टेलिफोन वार्तालाप मंगलबार बाहिरिएको थियो । पत्रकार अनुपमको फेसबुक पोस्टमा मेयर चौधरीले ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि सुरु भएको विवादका क्रममा टेलिफोनमार्फत् मेयर चौधरीले ‘नाकको हड्डी भाँच्ने’ धम्की दिएका छन् ।

‘‘अब तिम्रो नाकको हड्डी भाँच्न बाँकी छ,’’ मेयर चौधरीले फोनमा धम्क्याउँदै भनेका छन् । मेयर चौधरीले पत्रकार अनुपमको स्टाटसमाथि कमेन्ट लेख्दै ‘अब तिम्रो पालो’ लेखेका थिए । ‘‘तिमीले के लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याएको छु । एउटा घडेरी छुट्याएको छु । तिम्रो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ,’’ फोनमा मेयर चौधरीले भनेका छन्, ‘‘अब म गुण्डागर्दीमै उत्रिएँ । तिम्रो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ ।’’