‘सरकारले विपक्षीको सुझाव मानेन’ – सांसद भुसाल

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले चालु आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा विपक्षी दलले दिएको सुझाव सरकारले नसुनेको भन्दै आपत्ति जनाएकी छिन् ।

आगामी आर्थिक वर्ष २०७६–०७७ माथि बिहीबार प्रतिनिधिसभा बैठकमा जारी छलफलमा भाग लिँदै सांसद भुसालले चालु आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा आफूहरुले पुँजीगत खर्च बढाउन दिएको सुझावलाई सरकारले आनाकानी गरेको बताइन् ।

‘‘चालु आर्थिक वर्षको बजेटमाथि छलफल हुँदै गर्दा हामीले सरकारलाई पुँजीगत खर्च नबढाउँदा दीर्घकालीन योजनाले लक्ष्य प्राप्त गर्न सक्दैनन् भनेर पुँजीगत खर्च बढाउन सुझाव दिएका थियौं,’’ उनले भनिन्, ‘‘तर, सरकारले आगामी वर्षका लागि पुँजीगत खर्च नबढाएरै बजेट ल्यायो । फेरि पनि बजेट बरालियो । वितरणमुखी बजेटले निराशा छाएको छ । यसले मुलुकलाई समृद्धितर्फ लग्दैन ।’’