जुलाइको पहिलो हप्ता अमेरिकाको बाल्टिमोरमा नेपाली नेसनल कन्भेन्सन हुँदै

प्रकाशित मिति:

किरण ढकाल – अमेरीका  \ तीन नेपाली संस्थाहरूको संयुक्त अायोजनामा अाउँदो जुलाईको पहिलो हप्ता बाल्टिमोरमा ‘नेपाली नेसनल कन्भेन्सन‘ हुने भएको छ । एसोसिएसन अफ नेपाली इन अमेरिका (एएनए), एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (एन्मा) र अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसासं) को अायोजनामा जुलाइ ५ देखि ७ सम्म उक्त वृहद सम्मेलन हुन लागेको हो । बाल्टिमोरको नेपाली संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को अातिथ्यतामा सम्मेलन हुन लागेको चार संस्थाले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

नेपालीहरुको एउटै र संगठित आवाज भयो भने मात्र प्रवासमा हाम्रो उपस्थिति बलियो र देखिने खालको हुन्छ भन्ने विश्वसका साथ अमेरिका भरबाट नेपाली संघसंस्थाहरु र नेपालीहरुको सहभागिताको लागि आयोजकहरुले अपील गरेका छन्। सम्मेलनको संरक्षकमा नेपालका लागि अवैतनिक बाणिज्यदूत प्रेमराजा महत छन् भने एएनएका बोर्ड अफ डाइरेक्टर विजय श्रेष्ठ सभापति र बानाका अध्यक्ष सुवोध विलास पन्त कन्भेनर र एएनका सल्लाहकार कुलमणि अाचार्य सम्मेलन अायोजक कमिटीका स्थानीय अध्यक्ष चयन भएका छन् । सम्मेलनमा शिक्षा, स्वास्थ्य, ईमिग्रेसन, खेलकूद, साँस्कृतिक, बालबालिका, राजनैतिक लगायत विविध विधा समेटिने आयोजक मध्येका एएनए का अध्यक्ष मेदिनी अधिकारीले सबल नेपाललाई जानकारी दिनुभयो।