‘रेयर अर्थ मेटल’ मा चीनको चुनौती सामना गर्दै अमेरिका

प्रकाशित मिति:

एजेन्सी – चीन–अमेरिकाबीच पछिल्लो समय व्यापारयुद्ध चुलिँदो क्रममा छ। जसको कारण दुवै मुलुकले एकअर्काका उत्पादनमा कर बढाउनेदेखि कम्पनीलाई नै प्रतिबन्ध लगाउने योजना गरिरहेका छन्। यसैबीच चीनले अमेरिकालाई व्यापारयुद्धमा चुनौती दिनका लागि ‘रेयर अर्थ मेटल’को अमेरिका निर्यात रोक्नसक्ने चेतावनी दिएको छ। रेयर अर्थ मेटल पेरियोडिक टेबलका १७ तत्वहरुको समुह हो। यो निकै महत्वपूर्ण तत्व हुन्। यसको उत्पादन चीन सबैभन्दा अगाडि छ। अमेरिकाको वाणिज्य मन्त्रालयले मंगलबार अमेरिकामा रेयर अर्थ मेटलको आपूर्तिमा कुनै कमी नहुने बताएको छ। मन्त्रालयले चीनले निर्यातमा रोक लगाउनसक्ने बताएसँगै यस किसिमको प्रतिवेदन सार्वजनिक गरेको हो।

रेयर अर्थ मेटलको अवस्था –अमेरिकामा आउने ८० प्रतिशत रेयर अर्थ आपूर्ति चीनबाट हुने गरेको छ। चिनियाँ सञ्चारमाध्यमले पनि अमेरिकासँगको व्यापारयुद्धका लागि यो एक महत्वपूर्ण व्यापारिक हतियार हुनसक्ने बताउँदै आएका छन्। विश्वको निर्यातमा चीनको हिस्सा ७० प्रतिशतभन्दा बढी छ। साथै अझै चीनको उत्पादन अझै बढ्ने क्रममा छ। यस्तोमा चीनले यसको निर्यातमा रोक लगाउनेले व्यापारयुद्ध थप चर्किनसक्छ। व्यापारयुद्ध चलिरहेको अवस्थामा चीनले अमेरिका भ्रमण नगर्न आग्रह गरेको छ। अमेरिकी वाणिज्य मन्त्री विल्बुर रोजले यस किसिमका उत्पादन आधुनिक जीवनमा निकै महत्वपूर्ण रहेको बताएका छन्। उनले यस किसिमका उत्पादन विना आधुनिक जीवनको कल्पना गर्न नसकिने बताएका छन्।

यसअघि अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा यस किसिमका धातुको आपूर्ति रोकिएको खण्डमा आपूर्तिको सञ्जाल तथा अन्य आर्थिक समृद्धि र राष्ट्रिय सुरक्षामा पनि असर पर्नसक्ने उल्लेख गरिएको थियो। त्यसमा रुस र चीनले अमेरिका निर्यात रोकेको खण्डमा अमेरिकालाई नकारात्मक असर पार्नसक्ने बताइएको थियो।

नयाँ नियम – चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना कमिसनले यस विषयमा अध्ययन गरिएको छ। यसमा मुलुकका नीतिनिर्माताले कसरी उक्त समस्या समाधान गर्न सकिन्छ भन्ने विषयमा काम गरिरहेका छन्। साथै उनीहरुले अवैध उत्खनन पनि रोक्न माग गरेका छन्। साथै यस किसिमका धातुको तस्करी रोक्न पनि माग गरिएको छ। चीनले यस किसिमका उत्पादन रोक्नसक्ने संकेत गरेसँगै अमेरिकाले त्यसका लागि केही याजना पनि अघि सारेको छ। जसमा रेयर अर्थको लागि स्थानीय स्रोतसँग समन्वय विस्तार गर्ने र उत्खननको अनुमति अन्य कम्पनीलाई दिने विषयमा अहिले छलफल भइरहेको छ।

चुम्बकीय उत्पादनको जोखिम – रेयर अर्थ खपतको एक चौथाइ हिस्सा चुम्बकले ओगट्ने गरेको छ। अमेरिकाको उद्योगका लागि भने रेयर अर्थ मेटलको आपूर्ति रोकिएको खण्डमा त्यसलाई बचाउन सक्ने कुनै बलियो आधार नरहेको सिटिग्रुपका विश्लेषकले बताएका छन्। अहिले उत्खनन गर्ने र धातु उत्पादनको कामले अहिले वातावरणीय, प्राविधिक र कोषको अभावको चुनौती सामना गर्दै आएको छ। यस किसिमको चुनौती निरन्तरका लगानीकर्ता र सरकारको सहयोगमा आश्रित रहनेछ। यस्तोमा विशेषगरी अमेरिकाको लागि चुम्बकको आपूर्तिमा कमी आउनु निकै महत्वपूर्ण कुरा हो। यस्तोमा चीनले आफ्नो चुम्बकीय उत्पादन निर्यात रोकेको खण्डमा अमेरिकी अर्थतन्त्र नकारात्मक हिसाबले प्रभावित हुनसक्ने विश्लेषकहरुले बताएका छन्।

अमेरिकाले गुमाएको प्रभुत्व – कुनै समय अमेरिका सबैभन्दा ठूलो रेयर अर्थ धातु उत्पादक मुलुक थियो। सन् १९६० देखि ८० को दशकसम्ममा अमेरिकाले यो क्षेत्रमा अमेरिकाले राज थियो। यो मुलुकसँग १४ लाख मेट्रिक टन रेयर अर्थ धातुको सिञ्चति थियो। यो गत वर्षको समग्र उत्पादनको तुलनामा ९३ गुणा बढी हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई प्राकृतिक स्रोतका लागि कुनै पनि मुलुकको सहयोग लिनु नपर्ने अवस्थाका लागि तयार रहन आफ्ना मातहतका निकायलाई दिएका छन्। अमेरिकाको वाणिज्य मन्त्रालयले पनि त्यसैको तयारी पनि गरिरहेको छ। मन्त्रालयले ट्रम्पको नीति पूरा गर्न अमेरिका जोडतोडका साथ लागिपरेको बताएको छ।