काँग्रेस जागरण अभियान : कैलाली–कञ्चनपुरमा राहत र उद्धार

प्रकाशित मिति:

काठमाडौँ – कैलाली र कञ्चनपुरमा विहिबार साँझ आएको हावाहुरीका कारण दुई जनाको मृत्यु र सयभन्दा बढी घाइते तथा भौतिक संरचनाको क्षति र जनजीवन प्रभावित भएको घटनाप्रति काँग्रेसले दुःख प्रकट गरेको छ ।

‘विपद्मा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरुका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न नेपाली काँग्रेस सरकारलाई आग्रह गरेको छ,’ काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच काँग्रेसले कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका ती जिल्लाको राष्ट्रिय जागरण अभियानका पूर्व निर्धारित सबै कार्यक्रम राहत र उद्दारमा बदल्ने भएको छ । त्यस्तै काँग्रेसले जागरण अभियानका लागि जिल्लामा तोकिएका केन्द्रीय र पार्टी प्रतिनिधिलाई प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहतमा जुट्न आग्रह गरेको छ ।