सरकारले घर-घरमा गएर रोजगारी दिन्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति:

काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घर–घरमा गएर रोजगारी दिने बताउनुभएको छ । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले बेरोजगारलाई घर-घर पुगेर रोजगारी दिने आश्वासन दिनुभयाे । उहाँले ४० लाख नेपाली युवालाई आफ्नो नेतृत्वको सरकारले विदेश नपठाएको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाइरहेको बताउनुभयो ।

सरकारले भ्रष्टाचार नगरिकन काम गरिरहेको दाबी गर्दै काममा मात्र विश्वास गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘यसअघि सरकारले राम्रो काम नगर्दा विपक्षीले विरोध गर्ने परिपाटी भए पनि अहिले राम्रो काम गरेको देखेर विपक्षीहरु डाहाले विरोध गरिरहेका छन्’, उहाँले भन्नुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले भने अनुसार, पाँच लाख जना युवालाई जसरी पनि रोजगारी दिने दाबी गर्नुभयो । उहाँले अहिले भक्तपुरमा ७ सय जनालाई आंशिक रुपमा रोजगारी दिइएको बताउनुभयो ।

भक्तपुरका चारवटै नगरपालिकाको संयुक्त आयोजनामा ‘कामका लागि पारिश्रमिक’ मा आधारित सामुदायिक आयोजना कार्यान्वयनको बिहीबार शुभारम्भ भएको हो । सूर्यविनायकबाट कटुञ्जे-तीनधारा सडक निर्माण सुरु गरेर प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम सुरु गर्नुभएको हो । कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा दुई करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । सूर्यविनायक नगरपालिकाबाट ४ सय, चाँगुनारायण नगरपालिकाबाट ९ सय १० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जनाले रोजगारीका लागि आवेदन दिएका छन् ।