हेमानन्द गिरीको कथित शंकराचार्य घोषणा अमान्य : सन्त समाज

प्रकाशित मिति:

काठमाडौं। नेपालका सन्त समाजले हेमानन्द गिरीको कथित शंकराचार्य घोषणालाई अमान्य हुने बताएको छ।

महेश सन्यास आश्रमद्वारा आयोजित नेपालका सन्तहरुको द्विदिवसिय सम्मेलन पछि सार्वजनिक विज्ञप्ति जारी गर्दै समाजले हेमानन्द गिरीको कथित शंकराचार्य घोषणा मान्य नहुने बताएको हो।

भारतीय विद्वत परिषदले मठाम्नायानुशासन बमोजिम गर्नुपर्नेमा सो नगरि कथित शंकराचार्य घोषणा गरिएकोमा आपत्ति जनाउँदै त्यसलाई नेपालको सन्त समाजका तर्फबाट अस्विकार गर्ने प्रष्ट पारेको छ।

आद्यजगतगुरु शंकराचार्यद्वारा स्थापित चार मठ बाहेक नयाँ पीठ र नयाँ शंकराचार्य घोषणा गर्न नमिल्ने परम्परालाई भारतीय विद्वत परिषदले भंग गर्न खोजेकोमा पनि नेपालको सन्त समाजले विरोध गर्दै सो निर्णय फिर्ता लिन निर्देशन गरेको छ। यस विषयमा सन्त समाजले खुल्ला वहशको लागि समेत चुनौती दिएको छ।

भारतको इलाहावाद उच्च न्यायालयले भारत धर्ममहामण्डल र काशी विद्वत परिषदलाई ज्योतिषपिठमा रिक्त रहेको शंकराचार्य तोक्न सक्ने अख्तियार दिएपछि सो पदको प्रत्यासी साध्वी हेमानन्दलाई दण्डी सन्यासी नभएकोले शंकराचार्य बन्न अयोग्य घोषित गरिसकेको अवस्थामा पुनः आफू शंकराचार्य हो भन्दै हिड्नु गलत मात्र नभइ शंकराचार्य परम्पराको अपमान भएको सन्त समाजले ठहर गरेको छ। समाजले हेमानन्दलाई अनधिकृत चेष्टा नगर्न सचेत गराउँदै परमपराविरुद्ध कार्य गरिरहे उनलाई महामण्डलेश्वरको मान्यतालाई समेत अमान्य गर्न पहल गरिने जानकारी समेत गराएको छ।

नेपालमा पशुपति मठ नामक कुनै मठ नभएकोले साध्वी हेमान्नदलाई दिइएको उपाधी कपोलकल्पित र भ्रामक रहेको समाजले भनेको छ। नेपालको साँस्कृतिक उच्चता र नारी सशक्तिकरणजस्ता भावनात्मक मुद्धाहरुलाई प्रयोग गरि कपोलकल्पित पीठ शंकराचार्य घोषणा गर्ने हास्यास्पद प्रयासलाई अन्य शंकराचार्य पीठले समेत मान्यता दिन नसक्ने भएकोले नेपालका सनातन धर्मावलम्वी जनसाधारणलाई नेपालका सन्त समाजको आधिकारिक घोषणा वेगर भ्रमको पछि नलाग्न समेत आग्रह गरेको छ।

वक्तव्यमा नेपाल सन्त समाजका संरक्षक महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, उपाध्यक्ष स्वामी रमणानन्द गिरी र महासचिव डा गुरुप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन्।