भिटामिन ‘डी’ पूर्ति कसरी गर्ने ?

प्रकाशित मिति:

तपाईंलाई थकाइ लागेजस्तो हुन्छ ? शरीर दुख्छ ? धेरै रोग लागेजस्तो हुन्छ ? यदि त्यस्तो छ भने तपाईंलाई भिटामिन ‘डी’ को कमी भएको हुन सक्छ! भिटामिन ‘डी’ को कमीले अनेक रोग लाग्छन्।

नेपालमा पछिल्लो समय भिटामिन डी को कमीले धेरैलाई सताएको छ । अनेक किसिमका रोग लागेपछि कोही नसा रोगको शंकामा न्युरोलोजिस्टकहाँ पुग्छन् त कोही हाडजोर्नी, मधुमेह, थाइराइडको उपचार गर्न जान्छन्। ‘मधुमेह, नसा सबै सामान्य हुन्छ, परीक्षण गर्दै जाँदा भिटामिन ‘डी’ को कमी भेटिन्छ,’ वीर अस्पतालका न्युरोलोजिस्ट डा. सुनिल कोइराला भन्छन् । वीर अस्पताल न्युरोलोजी विभागका अनुसार दैनिक उपचारमा आउने १ सय ३० जनामध्ये ६० प्रतिशत बिरामीमा भिटामिन डी को कमी भेटिन्छ । भिटामिन ‘डी’ को औषधि दिएपछि त्यस्ता बिरामी निकोसमेत भएको डा.कोइराला बताउँछन्।

भिटामिन ‘डि’ किन?
– कुनै पनि रोगसँग लड्ने प्रतिरक्षा शक्ति विकास गर्ने
– शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बाच्न
– मस्तिष्कको क्रियाकलापमा सुधार ल्याउन
– शरीरमा क्यान्सरको कोष वृद्धि हुन नदिन
– प्रफुल्ल मन्द्रा र राम्रो निन्द्रा बनाउन
– मुटु रोगको जोखिमबाट बच्न

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल जनरल विभागका प्राध्यापक डा.योगेन्द्र शाक्य पनि सामान्य परीक्षण गर्न आएका धेरैमा भिटामिन डी को कमी पाइएको बताउँछन् । जनरल चेकअप (सामान्य परीक्षण) गर्न आएकामध्ये २०/३० प्रतिशत मानिसमा भिटामिन डी कमी भेटिएको उनले जानकारी दिए । लक्षणका आधारमा परीक्षण गर्दा यस्तो पाइएको डा.शाक्यको भनाइ छ।

हड्डीको समस्या भएर राष्ट्रिय ट्रमा सेन्टरको हाडजोर्नी विभागमा परीक्षण गर्न आएका औसत ७० प्रतिशत बिरामीमा भिटामिन डी को कमी पाइएको छ । ती बिरामी ढाड दुख्ने, जोर्नी दुख्ने समस्या लिएर उपचार गर्न त्यहाँ पुगेका हुन्छन् । यसको कारण बुढ्यौली नभएर भिटामिन डी कम पाइने गरेको सेन्टरका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.भोजराज अधिकारी बताउँछन् । ‘उनीहरू पाका उमेरका मात्र नभइ कम उमेरका पनि छन्,’ उनले भने।

धेरैमा भिटामिन डी को कमी पाइएपछि हड्डीको उपचार गर्न आउनेहरूमा पनि भिटामिन डी जाँच गर्ने चलन बढ्दै गएको डा. अधिकारी बताउँछन् । उनी भन्छन्, ‘एक्सरेबाट हाडजोर्नी समस्या देखिएन भने भिटामिन डी परीक्षण गर्छौं । तीमध्ये ८० प्रतिशत मानिसमा भिटामिन डी कमी नै पाइन्छ,’ उनले भने।

चिकित्सकका अनुसार पछिल्लो समय यो समस्या भयावह बन्दै गएको छ । बदलिँदै गएको जीवनशैलीले भिटामिन डी कम हुने समस्या निम्त्याएको हो । यो समस्या घरभित्रै काम गर्ने र सूर्यको प्रकाश शरीरमा नपर्नेहरूमा बढी देखिएको चिकित्सक बताउँछन् । ‘बिहान घाम नलाग्दै उठेर सीधै कार्यालय जाने र घाम डुबेपछि घर फर्कनेहरूका शरीरमा सूर्यको प्रकाश पर्न पाउँदैन,’ शिक्षण अस्पतालका डा.शाक्य भन्छन् । पाँच÷सात वर्षदेखि यो (भिटामिन डी) समस्या बढ्दै गएको चिकित्सकको भनाइ छ । ‘यो समस्या पहिलादेखि रहे पनि आजभोलि घर–घरको समस्याका रूपमा देखा परेको छ,’ डा.कोइरालाले भने।

पछिल्लो समय नेपालमा विभिन्न भिटामिनको अवस्था परीक्षण हुन  थालेपछि पनि नेपालीहरूमा भिटामिन डी को कमी पहिचान हुन थालेको चिकित्सक बताउँछन् । त्यो भन्दा पनि घरभित्र काम गर्ने चलन बढेसँगै यो समस्या पनि बढेको हुन सक्ने उनीहरूको अनुमान छ । नेपालमा भिटामिन डीको अवस्थाबारे अध्ययन नभएकाले यकिन तथ्यांक नभएको चिकित्सक बताउँछन्।

विश्व स्वास्थ्य संगगठनले नसर्ने रोगमध्ये भिटामिन डीको कमी विश्वव्यापी समस्या बनेको जनाएको छ । पहिला युरोपियन मुलुक र केही विकसित मुलुकमा सीमित  यो समस्इा पछिल्लो समय विश्वभर फैलिएको स्वास्थ्य संगठनले जनाएको छ।

किन हुन्छ भिटामिन ‘डी’ को कमी ?
भिटानिम डीको मुख्य स्रोत सूर्यको प्रकाश हो । तसर्थ दैनिक कम्तीमा २० देखि ३० मिनेट शरीरले सोस्ने गरी ताप्नु पर्छ । सूर्यमा सीधै सम्पर्क हुन सकेन या शरीरले कुनै पनि माध्यमबाट सोस्न पाएन भने शरीरमा भिटामिन डीको कमी हुन्छ । सूर्यको प्रकाशबाहेक सामुद्रिक खानाहरू माछा, मासु तथा अन्डामा पनि भिटामिन डी पाइन्छ । यी खानेकुराको कमीले पनि भिटामिन डीको कमी हुन्छ।

भिटामिन ‘डी’ हुँदा देखिने लक्षणहरू
– ज्यादै थकाइ लाग्ने
–  रीर कमजोर भएको महसुस हुने
– हिँड्डुल गर्नसमेत कठिन हुने
– शरीरमा बारम्बार किटाणु संक्रमण हुने

दाँत र हड्डी बलियो राख्न भिटामिन डी अति आवश्यक पर्छ । मुख्यगरी दाँत र हड्डीलाई बलियो बनाउन क्याल्सियम आवश्यक पर्छ । शरीरमा भएका क्याल्सियम र मिनरललाई सोस्ने काम भिटामिन डीले गर्छ अर्थात् भिटामिन डीले क्याल्सियमलाई चलायमान बनाउँछ, हर्मोनको काम पनि गर्छ । सूर्यको किरणले शरीरमा छोएपछि यो भिटामिन डी–३ मा रूपान्तरण हुन्छ।

भिटामिन डीको कमीले शरीरमा क्याल्सियमले काम गर्दैन । यस्तो अवस्थामा हड्डी कमजोर हुने, जोर्नी दुख्ने र कतिपयमा अवस्था हड्डी कमजोर भएर चर्किने समस्या हुन्छ । बालबालिकामा यसको कमी भयो भने शारीरिक वृद्धि–विकासमै असर पर्ने डा.अधिकारी बताउँछन् । भिटामिन डीले स्मरण शक्ति राम्रो राख्न, हड्डी बलियो बनाउन, शरीरमा अन्य रासायनिक गतिविधि सञ्चालन गर्न पनि मद्दत पु¥याउँछ ।
आन्द्रामा घाउ भएका, मिर्गौलामा पुरानो रोग भएका, जन्डिस बढेका बिरामीमा पनि भिटामिन ‘डी’ को कमी हुन्छ । कलेजोका बिरामी, मिर्गौलाका बिरामीलाई पनि भिटामिन ‘डी’ को कमी हुन्छ । यसबाहेक भिटामिन ‘डी’ को कमीले रक्तचाप बढ्ने र मुटुको रोगसमेत लाग्ने चिकित्सक बताउँछन् । पछिल्लो चरणमा भएका विभिन्न अध्ययनले भिटामिन ‘डी’ को कमीले ठूलो आन्द्रा तथा अन्य अंगको क्यान्सरसमेत वृद्धि भएको देखाएका छन् । यसले शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर भइ विभिन्न रोगले आक्रमण गर्ने बताइएको छ ।

त्यसो भए भिटामिन ‘डी’ पूर्ति कसरी गर्ने ?
भिटामिन ‘डी’ कमी हुनुको कारण पत्ता लगाई औषधि सेवन गर्नुपर्छ । भिटामिन ‘डी’ भएका खानेकुराहरू खाएर पनि यसको पूर्ति गर्न सकिन्छ । तर खानेकुराबाट पूरै पूर्ति गर्न सम्भव नहुने चिकित्सक बताउँछन्।

भिटामिन ‘डी’ भएका खानाहरू सामुद्रिक माछा, दूधबाट बनेका परिकार, सुन्तला, कलेजो, पनिर, अन्डाको पहेंलो भागजस्ता खानेकुरा नियमित सेवन गर्नुपर्छ । खानाबाट मात्र भिटामिन ‘डी’ पूर्ति गर्न सजिलो नभएकाले घाम तापेर पनि शरीरमा भिटामिन ‘डी’ पूर्ति गर्न गर्न चिकित्सक बताउँछन् । मिर्गौला, आन्द्रामा क्यान्सर भएका बिरामीले भने चिकित्सकको सल्लाह बमोजिम प्रतिस्थापन औषधि खानुपर्छ।