समृद्धि लुम्बिनीको बुटवलबाट सेवा शुरु

प्रकाशित मिति:

हरिश ढकाल बुटवल -समृद्धि लुम्बिनी रियल स्टेट कम्पनीले बुटवलबाट पनि आफ्नो सेवा शुरु गरेको छ । कुल एक करोड पुंजीबाट शुरुभएको समृद्धिको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले घरजग्गाको कारोबारलाई मर्यादित, पारदर्शी र विश्वसनीय बनाउन व्यवस्थित कम्पनीबाट कारोबार गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरे ।

कुल ५० जना शेयर सदस्य रहेको समृद्धि रियल स्टेटका संस्थापक सामसूर्य तामाङले घरजग्गाको किनबेच, घरजग्गा भाडामा लगाइदिने, आवासीय र ब्यापारिक प्रयोजनका घर÷भवनहरुको व्यवस्थापन र घरजग्गामा लगानी गर्न चाहनेलाई समूहमार्फत लगानी गर्ने लगायतका सेवा दिईने जानकारी गराए । एक वर्षअघि काभ्रेको बनेपाबाट शुरु भएको कम्पनीले काठमाडौं, पोखरा, बुटवल, थानकोट, भैरहवा, मोरङ, चितवन, नेपालगंज, इटहरी लगायतका शहरमा फ्रेन्चाइजी कार्यालय स्थापना भइसकेका छन् । यस्तै अमेरिका, पोर्चुगल, अस्ट्रेलिया, बेलायत लगायतका देशमा पनि सम्पर्क केन्द्र रहेका छन् ।

सो अवसरमा बोल्दै पुर्व सांसद विनोद पहाडी, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, तिलोत्तमा जेसीजका अध्यक्ष जयप्रकाश भट्टराई, पत्रकार दामोदर खनालले घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउन सुझाव दिए । कार्यक्रममा लुम्बिनी समृद्धि रियल स्टेट संचालक समितिका अध्यक्ष मुक्तिराम जीसी, संचालक सदस्य विमलराज भट्टराई, संचालक जानकी नेपाल लगायतले यस क्षेत्रमा घरजग्गा सम्बन्धी विश्वसनीय सेवा दिन कार्यालय स्थापना गरिएको बताए । कम्पनीको कार्यालयबाट सेवा लिंदा वा कारोबार गर्दा निश्चित सेवा शुल्कमा काम हुने भएकाले बिचौलियाबाट ठगिनबाट जोगिने र सम्पत्तिको वैज्ञानिक ढंगले मूल्याङकन हुने कम्पनीको दावी छ । कम्पनीले त्यस्ता कारोवारमा मुल्यको १ देखि ४ प्रतिशतसम्म सेवा शुल्क लिईने र अनलाईनबाट पनि कारोवार गर्न सकिने बताईएको छ ।