स्वास्थ्य संस्थालाई व्यवस्थित र जनमुखी बनाउनुपर्छ : नगर उपप्रमुख पुन

प्रकाशित मिति:

कौरव खत्री,बाग्लुङ्ग-बाग्लुङ्गको ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख करमती पुन मगरले स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित र जनतामुखी बनाउनु पर्ने बताइन। ढोरपाटन नगरपालिका ४ छोरेगाउॅमा आयोजित खुंगा स्वास्थ्य चौकीको सामाजिक परिक्षण आम भेलालाई सम्बोधन गर्दै यस्तो बताइकी हुन । पछिल्लो समय सरकारी स्वास्थ्य संस्थाप्रति आम जनताको नकरात्मक धारणा बढदै गएको भन्दै सरकारी सेवा सुविधाको उपयोग गर्न नगरबासीलाई अनुरोध समेत गरिन ।त्यसको लागि ढोरपाटन नगरपालिकाले स्वास्थ्य संस्थाहरुलाई समय सापेक्ष व्य वस्थापन गर्दै लैजाने नगर उपप्रमुख पुनको भनाई छ ।

सामाजिक परिक्षण कार्यको पहिलो चरणमा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति सॅग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु सॅगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सॅगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो । अभियानको क्रममा खुंगाका विभिन्न स्थानमा तथ्याङ्क संकलन, स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहॉको सुसासन, पार्दर्शिता र जवाफदेहितालाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ । आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतीकरण सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गरेकी थिइन । सोही अवसरमा भेलामा उपस्थित त्यस वडाका समुदायले स्वास्थ्य चौकीबाट पाउने सेवा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिएका छन भनें यो आर्थिक वर्षमा गर्भवती महिलाले सुत्केरी प्रोत्साहन रकम नपाएको गुनासो गरेका थिए ।

नेपाल सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु पर्याप्त उपलब्ध नभएको तर स्वास्थ्यकर्मीको व्यवहार राम्रो रहेको र चौबिसै घण्टा सेवाहरु प्राप्त गरेको भन्दै प्रशंसा गरिएको थियो । औषधी व्यवस्थापन, फोहोर व्यवस्थापन र लुकुरबनमा सञ्चालन हुन लागेको सामुदायिक स्वास्थ्य ईकाईमा बर्थिङ सेन्टर आवश्यक रहेको बताएका थिए । कार्यालय समयमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी रहने गरेको उनीहरुको भनाई थियो । त्यस्तै विद्यालयमा प्राथमिक उपचार सामाग्री उपलब्ध गराईदिन विद्यालयले माग गरेका छन । स्थानियमा जनसमुदायमा जनचेतना फैलाउने चेतनामुलक स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिदिन समेत उनीहरुले आग्रह गरेका छन । त्यस्तै भेलामा आवश्यक औषधीहरु उपलब्ध गराईदिन सम्बन्धित निकायमा माग समेत गरेका छन । आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक रितु वर्ण पौडेल, खुंगा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तिलक पुन मगर र खुंगा स्वास्थ्य चौकी प्रमुख रामेश्वर ठाकुरले प्रतिवद्वता सहित स्पष्ट पारेका थिए । सामाजिक परिक्षण कार्यको आम भेलामा खुंगा स्थित जनप्रतिनिधी, संघ संस्थाका प्रतिनिधीहरु, आमा समुह, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । आम भेला ढोरपाटन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एवं खुंगा स्वास्थ्य चौकीका अध्यक्ष तिलक पुन मगरको अध्यक्षता, उपाध्यक्ष कमला छवि विश्वकर्माको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।