रामग्राम स्तुपको विकासमा सक्दो पहल गर्छु : तिमिल्सीना

प्रकाशित मिति:

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले रामग्राम स्तुपकोे ऐतिहासिक महत्व, स्तुपको विकासमा भएको पहल र ढिलाई लगायतको विषयमा जानकारी लिनुभएको छ । पश्चिम नवलपरासीको प्राचिन रामग्राम स्तुपको अवलोकन गर्दे तिमिल्सीनाले भगवान् गौतम बुद्धको सिंगो अस्तुधातु रहेको संसारकै एकमात्र स्तुपलाइ स्थानीय, प्रदेश र संघीय तीन वटै सरकारको समन्वयमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले रामग्राम स्तुपको उचित प्रचारप्रसार, संरक्षण र विकासका लागि लुम्बिनि विकास कोष तथा पर्यटन मन्त्रीको ध्यानाकर्षण गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

दुई वर्षको अन्तरालमा पत्ता लागेका लुम्बिनी र रामग्राम स्तुपको विकासलाई हेर्दा रामग्राम धेरै पछाडि रहेको भन्दै उहाँले स्थानीय स्तरबाट पनि यसको विकासका लागि आवश्यक योजना बनाउनुपर्ने बताउनुभयो । रामग्राम सहित बुद्धसँग जोडिएका सवै क्षेत्रको एकिकृत विकास गरी धार्मिक पर्यटन र स्थानीयको जीवनस्तर बृद्धि गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले रामग्राम स्तुप क्षेत्रको आवश्यक प्रचारप्रसार गरी लगानीको वातावरण बनाउन सुझवा दिदैँ आफुले सक्दो पहल गर्ने आश्वासन पनि दिनुभयो । सो अवसरमा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले रामग्राम स्तुपको विकास अपेक्षाकृत नहुनुको कारण जानकारी गराउँदै स्थानीय सरकारको मातहतमा रामग्राम स्तुप नहुँदा लगानी गर्न र योजना बनाएर विकास गर्न पनि नपाएको बताउनुभएको थियो । यसैगरी रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले रामग्रामको विकासमा लुम्बिनी विकास कोषले उपेक्षा गरेको भन्दै छुट्टै रामग्राम विकास कोष गठनको लागि पहल गरिदिन माग गर्दे राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनालाई ज्ञापन पत्र बुझाउनुभएको थियो । सो अवसरमा राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने लगायतको पनि सहभागिता रहेको थियो ।