अमेरिका जान १८/१८ लाख तिरेका दुई युवाको बेदना– ५२ दिनसम्म बन्धक बनाएर बलात्कार

प्रकाशित मिति:

काठमाडौं – नेपालीमा पछिल्लो समय महिला, बालबालिका बलात्कारका घटनाका समाचारहरुमा वृद्धि भएको छ । पुरुषमाथि यौन जन्य हिंसा भएका समाचारहरु पनि बेलाबेलामा आउने गरेका छन् । पुरुष, पुरुषबाटै बलात्कारको सिकार बन्ने गरेका कयौं उदाहरणहरु बेलाबेलामा सञ्चारमाध्यमहरुमा आउने गरेको छ । सामान्यतया बलात्कारका घटनाहरु सार्वजनिक हुने गरेको छैन । त्यसमा पनि पुरुषद्वारा पुरुष नै बलात्कृत भएको घटनाहरु सार्वजनिक हुने गरेको छैन । तर वैदेशिक रोजगारीको नाममा दुई युवा पुरुषबाट नै बलात्कृत भएपछि न्यायको खोजीमा भौतारिएका छन् ।

दुई नेपाली युवा वैदेशिक रोजगारीको नाममा हाइटीमा बलात्कृत भएका छन् । ५२ दिनसम्म बन्धक बनाएर आफूहरुमाथि बलात्कार गरिएको उनीहरुको दाबी छ । नेपाल फर्किएसँगै उनीहरु अहिले न्यायको खोजीमा लागेका छन् । अमेरिका जानु छ भने हामीले भनेको मान्नुपर्छ भन्दै दुई महिना कोठाभन्दा बाहिर निस्कन नदिँइ बलात्कार गरे बाग्लुङ र मोरङका दुई युवालाई हाइटीमा पाकिस्तानी र इजिपेली नागरिकले ५२ दिन बन्दी बनाएर बलात्कार गरेका थिए । यी युवा रोजगारीका लागि दलालमार्फत अमेरिका जाने क्रममा हाइटी पुगेका हुन् ।

बाग्लुङका राजिव गौतम (नाम परिवर्तन) ४ वर्ष कतारको (क्यारी फोर) सुपरमार्केटमा काम गरेर नेपाल फर्किए । नेपालमा केही गर्नुपर्‍यो भनेर बाग्लुङमै बाख्रा पालेर बसे । तर, बाख्रा पालन गरेपनि बजार नपाएपछि फेरि रोजगारीका लागि विदेशीने चक्करमा लागेका उनलाई पोखराका सन्तोष नाम बताउने सरोज गुरुङले अमेरिका पठाइदिने भन्दै हाइटीसम्म पुराएका थिए । राजिवका अनुसार हाइटीमा दुई महिना विदेशी नागरिकले कोठाबाट बाहिर निस्कन नदिइ बलात्कार गरेका थिए । उनलाई अमेरिका पठाउँछु भन्ने गुरुङ हाल ठगी मुद्दामा प्रहरीको फरार सूचीमा छन् । होटलमा बस्न थालेपछि पास्कितानी र इजिप्टका नागरिकले आफूहरुलाई केटीहरुसँग गर्ने जस्तो व्यवहार गरेको उनले बताए

‘थाइल्याडबाट टर्की हुँदै ९ जना हाइटी पुगका थियौं’ उनले भने,‘टर्कीमा १५ दिन बसेपछि रेलमा २१ घन्टा यात्रा गर्दै (देशको नाम याद भएन) त्यहाँबाट हाइटी पुग्या ।’

हाइटीको एउटा स्टार होटलमा एजेन्टले राखेको उनले बताए । ‘हामीलाई हाइटी पुराएर एक जना नेपाली बेपत्ता भए, उनको नाम कविराज हो’ गौतमले भने ‘अमेरिका पुराउने जिम्मा दुई विदेशी नागरिकलाई दियो । ती विदेशी नागरिकले हामी बसेको होटलबाट अर्कोको होटलमा लिएर गए । त्यसपछि हाइटी शहरदेखि नजिकैको एउटा होटलमा राखे ।’ होटलमा बस्न थालेपछि पास्कितानी र इजिप्टका नागरिकले आफूहरुलाई केटीहरुसँग गर्ने जस्तो व्यवहार गरेको उनले बताए ।

‘नेपाली एजेन्टले जिम्मा लगाएका विदेशी नागरिक समलिंगी (गे) रहेछन् । उनीहरुले मोरङका एक साथी र मलाई कोठामै राखेर लगातार बलात्कार गरे’ गौतमले भने,‘ म र साथी एउटै होटलमा बसेपनि फरक–फरक रुम थियो । ६ तल्लामाथिको राखेका थिए । बाहिर निस्कियो भने प्रहरीले समाउँछ भनेर कोठामा नै मै दुई महिना बन्दी बनाएर राखे ।’ अमेरिका जानु छ भने हामीले भनेको मान्नुपर्छ भन्दै दुई महिना कोठाभन्दा बाहिर निस्कन नदिँइ बलात्कार गरेको राजिवले सुनाए । आफूहरुसँगै रहेका ११ साथीमध्ये दुई जनालाई बन्धक बनाएर बलात्कार गरेको उनको भनाइ छ । राजिवले अमेरिका जान १८ लाख एजेन्ट गुरुङलाई बुझाएका थिए । हाल उनी न्यायको खोजीमा प्रहरीका धाइरहेका छन् ।

यस्तै, मोरङका दिनेश कार्की (नाम परिवर्तन) को समस्या पनि उस्तै छ । व्यवस्थापनमा डिग्री गरेका दिनेश काठमाडौंको एउटा राम्रो कलेजमा अध्यापन गराउँदै थिए । राजधानीमा एक टियुसन सेन्टरमा काम गर्दै गर्दा उनको एक एजेन्टसँग सम्पर्क भएको थियो । उसैले अमेरिका पुर्‍याउने प्रलोभन देखाएपछि दिनेशको अमेरिका मोह बढ्यो । उनलाई कन्सल्टेन्सी सञ्चालक राजनकुमार गौतमले अमेरिका पठाइदिने भन्दै दलालमार्फत हाइटीसम्म पुर्‍याएका थिए । गौतम पनि अहिले ठगी मुद्दामा जेल परेका छन् ।

नेपालबाट अमेरिका जाने भनेर गत फागनुमा हिँडेको बताउँदै दिनेशले ११ दिन दिल्ली बसेर हाइटी पुगेको सुनाए । ‘गौतमले मेक्सिको हुँदै अमेरिका छिराउने आश्वासन दिएका थिए । तर, दिल्लीबाट हाइटी हुँदै जानुपर्छ भनेर एजेन्टले हाइटी पुर्‍याए । हाइटीमा पुगेपछि प्रोसेसिङका लागि समय लाग्छ भन्दै होटल परिवर्तन गदै राखे,’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘त्यसपछि हामीलाई हाइटीमा घुमाउने एजेन्टले एक विदेशी नागरिकलाई जिम्मा लगाएर फरार भयो । हामीलाई अमेरिका पठाउने इजिप्टको नागरिक थियो ।

उसँग अर्को पाकिस्तानी नागरिक पनि थियो । त्यसपछि होटलमा लिएर गयो । त्यहाँ अमेरिका जान हिँडेका अर्का एक नेपाली पनि थिए ।’ पाकिस्तान र इजिप्टका दुवै युवा आइटी इन्जिनियर रहेको बताउँदै दिनेशले काममा जाँदा आफूहरुलाई कोठामा थुनेर बाहिर चाबी लगाउने गरेको बताए । कोठामा नेट र नेटवर्क केही नभएका कारण सम्पर्कमा आउन नसकेको उनले बताए । ‘बन्धक भएको ५२ दिनपछि हामीलाई बन्धक बनाउने पाकिस्तानीको जन्मदिन पर्‍यो । त्यसबेला उनीहरुले बेसकन रक्सी खाए । उनीहरु बेहोस हुनेगरि रक्सी खाएको मौका पारेर हामी त्यहाँबाट भाग्न सफल भयौं ।’

राजिव र दिनेश दुवैले उनीहरुको साथमा रहेको पैसा चोरेर राति १२ बजे कोठाबाट भागेको बताए । उनीहरुको साथमा रहेको ४ हजार अमेरिकी डलर राजिव र दिनेशले लिएका थिए । त्यहाँबाट भागेका उनीहरु एक भारतीयको होटलमा बसेर नेपाल आउने प्रक्रिया गरेका थिए । दिनेशले अमेरिका जान करीब १८ लाख रुपैयाँ तिरेको सुनाए । यसरी अमेरिका जाने आशा बोकेका अरु धेरै नेपाली हाइटी लगाएका देशमा बन्धक भएर बसेको हुनसक्ने उनीहरुको अनुमान छ । यतिबेला अमेरिका पठाइँदिने भन्दै ठगी गर्ने र आफूहरुलाई नारकिय जीवन विताउन बाध्य पार्ने एजेन्ट गुरुङमाथि कारवाहीको अपेक्षा गर्दै प्रहरीका धाउने गरेका छन् । – खबरहब