वडाध्यक्षको हर्कत : एकै व्यक्तिलाई दिए दुई नागरिकता,लाजै नमानी भने – अनजानमा भयो !

प्रकाशित मिति:

काठमाडौं – उदयपुरको कटारी नगरपालिका-४ स्थायी घर भएकी एक महिलाले वडाध्यक्षको सिफारिसमा दोहोरो नागरिकता लिएको खुलेको छ। कटारी-४ गबुवा घर भएकी धनमाया राईको लेनदेनको विषय विवाद आएसँगै उनको दोहोरो नागरिकता रहेको रहस्य खुलेको हो। २०५२ साल बैसाख ४ गते बुबा दर्वजीत राई र आमा मनसरी राईको कोखबाट जन्मिएकी धनमाया राईको २०६७ साल असोज महिनाको २६ गते जातीय परम्पराअनुसार नन्दकुमार राईका छोरा प्रकाश राईसँग विवाह भएको थियो। २०६९ साल कार्तिक १५ गते साबिकको ककुर ठाकुर गाबिस (हाल-दुधौली नगरपालिका-१३) बाट धनमाया र प्रकाशको विवाह दर्ता भएको छ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुलीबाट २०६९ साल माघ २३ गते जन्मदर्ता र विवाह दर्ताको प्रमाण पेस गरेर श्रीमान प्रकाश राईको नामबाट धनमायाले २०-०१-६९/०३३७५ नम्बरको पहिलो नागरिकता लिएकी थिइन्। केही समयपछि यी दुवैबीच मनमुटाव सुरु भयो। मनमुटावका कारण उनीहरुको वैवाहिक सम्बन्ध समेत राम्रो हुन नसकेको पारिवारिक स्रोत बताउँछ। आफू वैदेशिक रोजगारीका लागि विदेश गई पठाएको रकमले घडेरी किनेको र सोही घडेरी आफ्नो पक्षमा पार्न धनमायाले बुवा सर्वजित राईको सहयोगमा नयाँ नागरिकता बनाएको प्रकाशले दाबी गरेका छन्।उनीहरुले वडाध्यक्षको संलग्नतामै दोहोरो नेपाली नागरिकताको प्रमाणपत्र बनाएको प्रकाशका परिवारका एक सदस्यले दाबी गरे।

पछि धनमायाले माइती गाउँ कटारी नगरपालिका–४ को सिफारिसमा आफ्नो फरक नाम राखी पुनः नागरिकता बनाएको रहस्य खुलेको हो। कटारी नगरपालिका–४, का वडाअध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा सीतल राईको नाममा नयाँ नागरिकता बनाइएको पाइएको छ।

धनमायाले इलाका प्रशासन कार्यालय कटारीबाट १४-०२-७४-०१४१२ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी छिन्। २०७४ साल भदै २९ गते नयाँ नागरिकता लिएकी उनले आफ्नो जन्ममिति २०५२ साल बैसाख ४ गते उल्लेख गरेकी छिन्। राईले आफ्नो बुवालाई सनाखत गर्न लगाएर नयाँ नागरिकता बनाएकी हुन्।

वडा अध्यक्ष भन्छन् – जान-जान होइन अन्जानमा भयो सीतल राईले यसअघि नागरिकता नलिएको भनेपछि आफूले सिफारिस गरेको वडाध्यक्ष कृष्णाराज दनुवारले स्वीकार गरे। पछि धनमाया श्रीमान प्रकाशले निवेदन दिएरै नागरिकता खारेजी गर्न भनेपछि उनले सीतलको नामबाट जारी नागरिकता नागरिकता रद्द गर्न इलाका प्रशासन कार्यालयलाई पत्रचार गरिसकेको उनको भनाइ छ। वडाध्यक्ष दनुवारले भने, ‘जान-जान होइन अन्जानमा भयो, अहिले रद्द गर्न पत्राचार गरिसकेका छौं।’

दोहोरो नागरिकताबारे धनमायाका पति प्रकाशले ‘सितलको नाममा दिइएको नागरिकता खारेजी तथा संलग्नलाई उचित कारबाहीको माग गर्दै’ कटारी नगरपालिका-४ कार्यालयमा निवेदन दिएपश्चात् घटना बाहिर आएको हो। सोपश्चात् वडाध्यक्ष दनुवारले इलाका प्रशासन कार्यालय कटारीलाई नागरिकता खारेजीको लागि गत जेठ १२ मै पत्र लेखेका छन्। वडाध्यक्षको पत्रअनुसार नै इलाका प्रशासन कार्यालय कटारीले सिन्धुली जिल्ला प्रशासन कार्यालयमा धनमायाको नाममा दिइएको नागरिकताको अभिलेख माग गरेको थियो। अभिलेख जुधाएर हेर्दा दोहोरो नागरिकता रहेको पुष्टि भएको हो।

यद्दपि थप प्रमाणका लागि इलाका प्रशासन कार्यालयले वडा कार्यालयलाई ‘नागरिकता प्रदान गरिएका धनमाया र सितल राई दुवै व्यक्ति एकै हुन्’ भनि प्रमाणित गरेर पठाउन पत्राचार गरिएको प्रमुख इलाका प्रशासक सुनिल पौडेलले बताए। ‘प्रकाश राईबाट नागरिकता खारेजी गरिपाऊँ भनि निवेदन आएको थियो। वडा कार्यालयले पनि भूलवश नागरिकता सिफारिश भएको भन्दै पत्राचार गरेको थियो,’ पौडेलले भने, ‘सोहीअनुसार हामीले सिन्धुलीबाट पनि अभिलेख मगायौं। सिन्धुलीमा भने सितलको नाम धनमायाको रुपमा प्रमाणित भएको रहेछ।’

प्रशासक पौडेलका अनुसार अब वडा कार्यालयले व्यक्ति प्रमाणितको सिफारिस दिएपछि इलाका प्रशासन कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई सबै व्यहोरासहित पत्राचार गर्नेछ। ‘घटनाका बारे हामी सबै व्यहोरासहित प्रमुख जिल्ला अधिकारी समक्ष प्रस्तुत गर्छौं,’ उनले भने, ‘कारबाहीका बारेमा बाँकी निर्णय प्रजिअले लिनुहुनेछ।’

के हुन्छ कारबाही? नेपालको कानुनअनुसार एक व्यक्तिले दोहोरो नागरिकता लिन पाइँदैन। यदि कुनै नेपाली नागरिकले झुठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नुका साथै नागरिकता लिने, साक्षी बस्ने तथा सिफारिस बस्नेलाई समेत कारबाही हुने व्यवस्था छ।

‘नागरिकता ऐन २०६३’ को नियम २१ को उपनियम ३ मा झुटो विवरण पेस गरी नागरिकता लिने व्यक्तिलाई ५ वर्षसम्मको कैद हुने तोकिएको छ। ‘कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ,’ ऐनमा भनिएको छ।

नियतवश नै यस्तो नागरिकताका लागि सिफारिस गर्ने जनप्रतिनिधि वा सरकारी अधिकारीका लागि भने नियम २१ को उपनियम ६ आकर्षित हुन्छ। ऐनमा भनिएको छ, ‘नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानी–जानी वा बदनियत राखी यस ऐन वा यस ऐनअन्तर्गत बनेका नियमविपरीत हुने गरी नागरिकताको प्रमाणपत्र दिएमा वा नागरिकताको प्रमाणपत्रको विवरण सच्याएमा त्यस्तो पदाधिकारी वा कर्मचारीउपर प्रचलित कानुन बमोजिम विभागीय कारबाही हुनेछ।’

हाल सितल राईको नाममा जारी भएको नागरिकता खारेजीको प्रक्रिया करिब एक साताभित्रै सकिने पौडेलले बताए। उनले भने, ‘प्रमाणित भएमा कसलाई कस्तो कारबाही गर्ने भन्ने निर्णय लिने अधिकार स्वयम् प्रजिअलाई हुन्छ।’ उदयपुरका प्रजिअ ध्रुबबहादुर खड्काले भने यदि एकै व्यक्तिले दुई वटा नागरिकता लिएको भए नागरिकता ऐनअनुसार नागरिकता लिने र दिने दुवैलाई कारबाही हुने स्पष्ट पारे। – नेपाललाइभ