छाया श्रममन्त्रीले भनिन – मलेसिया रोजगारी तत्काल खुलोस !

प्रकाशित मिति:

काठमाडौं – छाया सरकारकी श्रम मन्त्री डा डिला संग्रौलाले मंगलबार नयाँ श्रम सम्झौता अनुसार मलेसिया रोजगारी तत्काल खुलाउन प्रतिनिधि सभामा प्रस्ताव पेस गरेकी छन्। नेपाली कामदारहरूको निकै महत्वपूर्ण गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसियासँग नयाँ प्रक्रियामार्फत शून्य लागतमा कामदार पठाउने गरी श्रम सम्झौता भएको ७ महिना बितिसक्दा पनि खुल्न नसकेपछि तत्काल मलेसिया रोजगारी खुलाउनुपर्ने भन्दै संग्रौलाले प्रस्ताव पेस गरेकी हुन्।

उनले रामबहादुर विष्ट र देव प्रसाद तिमिल्सिना समर्थनमा सो प्रस्ताव दर्ता गराएकी हुन्। नेपाली कामदारहरू सम्झौताअनुसार पठाउन पहल नगर्दा नेपाली कामदारहरूका लागि मलेसिया मलेसीयाली रोजगारदाताहरूले विकल्पमा अन्य मुलुकबाट कामदार भित्र्याउन थालेकाले नेपाली कामदारहरूको रोजगारीको अवसर खुम्चिँदै गएको भन्दै तत्काल मलेसिया रोजगारी खुलाउनुपर्ने प्रस्तावमा उल्लेख छ।

प्रस्तावमा भनिएको छ, ‘मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखीकरण, मागपत्र प्रमाणिकरण गर्ने क्रममा पैसाको चलखेल नियन्त्रण गर्न नसकेको र श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगिने क्रम बढदै गइरहेको छ, मलेसिया जान चाहने युवाहरूको मेडिकल जांच गर्ने संस्थाको छनोट गर्दा मलेसिया तथा नेपालका विचौलियाको चलखेल नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल भएको छ। यसको प्रमाणका लागि मलेसियासँग शून्य लागतमा श्रम सम्झौता भएपनि ७ महिनासम्म पनि मेडिकल गर्ने संस्था सूचिकरण र छनोट गर्न नसक्दा रोजगारी खुल्न सकेको छैन।’कामदारमाथि आर्थिक शोषण भएको भन्दै २०७५ जेठ २ गते बन्द भएको मलेसिया रोजगारी अझैसम्म नयाँ प्रक्रियामार्फत खुल्न नसक्दा ५ लाखभन्दा बढी नेपाली कामदार मलेसिया जानबाट वञ्चित भएका छन भने देशले अरबौं रुपैयाँ रेमिट्यान्स गुमाइरहेको छ।