युवा व्यवसायीतथा समाजसेजी खकुरेल एनआरएन यूकेको कोषाध्यक्ष दाबेदार

२९ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
14 Shares


लण्डन । गैर–आवासीय नेपाली संघ बेलायतको आगामी चुनावमा वर्तमान कार्यसमितिका केन्द्रिय सदस्य राजन खकुरेलले कोषाध्यक्ष पदमा उम्मेद्धारी दिने भएका छन् । उनले एनआरएनए यूकेको च्यारिटी कमिशनमा फण्डरेजिङ कोअर्डिनेटरको भूमिका पनि खेलेका थिए ।

बेक्स्ली समाज यूकेद्धारा गत शनिवार साउथ–इस्ट लण्डनको वेलिङमा आयोजित बार्षिक भेटघाट कार्यक्रममा खकुरेलले आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन् । उनले एनआरएनए यूकेका अग्रजहरु, अभियन्ताहरु र बेलायतमा रहेका बिभिन्न संघसस्थाका नेतृत्वको सल्लाहमा आफुले उम्मेद्वारी दिएको बताए । बुट्स फार्मेसीमा एसिस्टेण्ट म्यानेजरको रुपमा कार्यरत खकुरेल पेशाले स्वास्थ्यकर्मी हुन् र छोटो समयमै उनले एक सफल युवा ब्यवसायीको समेत परिचय बनाएका छन् । खकुरेलको प्लमस्टेडको डाँफे रेस्टुरेण्ट एण्ड बार र वेलिङको मनकामना स्टोर साउथइस्ट लण्डनमा निकै लोकप्रियमध्येमा पर्दछन् ।

सन् २०१० मा बेलायत प्रवेश गरेयता आफ्नो ब्यापार ब्यवसाय बाहेक खकुरेलको समाजसेवामा पनि उत्तिकै लगाव रहेको छ । उनी हाल बुद्द फाउण्डेशन यूकेका कोषाध्यक्ष र नेपाली युथ एशोसियसन यूकेका बरिष्ठ उपाध्यक्ष समेत हुन् । हरेक बर्ष ट्राफल्गर स्क्वायरमा मनाइने बुद्द जयन्ती सफल हुनमा खकुरेलको अग्रिम भूमिका रहिआएको छ । उनकै अग्रिम भूमिकामा निर्माणाधिन कपिलवस्तु वृद्दाश्रमको लागि बुद्द फाउण्डेशनले करिब ३० हजार पाउण्ड सहयोग नेपाल पठाएको थियो ।

बेलायतमा हुने कतिपय खेलकुद क्रियाकलापहरुमा पनि राजन खकुरेलको नाम उत्तिकै जोडिने गरेको छ । हरेक बर्ष खेलाइने ग्रीनवीच कप भलिबल प्रतियोगिताको पनि उनले सन् २०१५ देखि २०१७ सम्म लगातार रुपमा संयोजन गरे । उनी सन् २०१८ बाट भने ग्रीनवीच कपको सहसंयोजक रहेका छन् । लण्डनको विश्वप्रसिद्द लर्डस् रंगशालामा नेपाल र एमसीसीबीच भएको ऐतिहासिक क्रिकेट प्रतियोगितामा खकुरेलले टिकेटिङ कोअर्डिनेटिङको भूमिका निर्वाह गरेका थिए । त्यस्तै लर्डस् खेलमैदानमै भएको नेपाल, नेदरल्याण्ड र एमसीसी बीचको त्रिकोणात्मक क्रिकेट प्रतियोगितमा पनि राजन खकुरेलको भूमिका कम रहेन ।

दानवीर राजनको दानका कथा  समाजसेवा भनेको लिनु होइन दिनु हो भन्ने राम्रा उदाहरणहरु राजन खकुरेलले समाजमा पेश गरेका छन् । खकुरेलले २०१५ सालको महाभूकम्पको चपेटामा परेकाहरुलाई बेलायतस्थित बिभिन्न संघ–सस्थाहरुमार्फत सहयोग राशी संकलन गरी नेपाल पठाएका थिए । उनले सन् २०१५ मै ब्लड क्यान्सरपिडीत हेमन्त कुमारी थापाको स्वास्थोपचारका लागि २ लाख ५० हजार रुपैया संकलन गर्नमा सहसंयोजकको भूमिका खेले । त्यस्तै उनले सन् २०१६ मा मेरुदण्डको समस्याबाट पिडीत २७ बर्षीय रमेश मिजारको स्वास्थ्योपचारका लागि १ लाख ५० हजार रुपैयाँ संकलन गरी नेपाल पठाए । गत साल पनि खकुरेलले पुनः अर्का ब्लड क्यान्सरपिडीत हेमकुमारी सापकोटाको उपचारार्थ १ लाख ६८ हजार रुपैयाँ संकलन गरी नेपाल पठाए । बेलायतमा हुदैआएका धेरैजसो च्यारिटी कार्यक्रमहरुमा खकुरेल सधैं दाता रहिआएका छन् ।

एनआरएनए यूकेले गोर्खा कपमा शुरु गरेको स्वास्थ्य शिविर ९हेल्थ क्याम्प० को पनि खकुरेलले गत साल सहसंयोजकको र यस पटक संयोजकको भूमिका निर्वाह गरे । आगामी कार्यसमितिमा आफु किन कोषाध्यक्ष रहनुपर्ने भन्ने प्रश्नको जवाफमा राजनले भने, “संस्थालाई आर्थिक रुपमा सबल र पारदर्शी बनाउन, नेपाल हाउस अभियानलाई पुनः निरन्तरता दिन र वर्तमान कार्यकालमा आफ्नै आर्थिक संयोजनमा शुरु गरेको च्यारिटी दर्ता प्रकृयालाई म पूर्णता दिन चाहान्छु । एनआरएनए यूकेको आठौं राष्ट्रिय अधिबेशन आगामी सेप्टेम्बर १४ र १५ मा हुँदैछ र आकांक्षीहरुले बिभिन्न पदहरुमा उम्मेद्धारी घोषणा गर्ने क्रम हाल जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया