बुटवल । बुटवलको ट्राफिक चोकमा घर भएका ४१ वर्षिय सञ्जिब श्रेष्ठ बुटवलबाट मोटरसाईकलमा ड्राईभरटोलतर्फ जाँदै थिए । ड्राईभरटोलमा रहेको गाडी धुने ग्यारेजमा जाने क्रममा शंकरनगरमा पुग्दा प्रहरीको भ्यान आयो । श्रेष्ठले गलत साईडमा किन हिंडेको भनेर प्रहरीको ड्राईभरलाई सोधे । र उनी सिधै आफ्नो ग्यारेजमा पुगे । ग्यारेजमा पुग्दा प्रहरीको भ्यान पनि उनिसँगै आईपुग्यो । भ्यानबाट प्रहरीहरु झरेर एक्कासी श्रेष्ठलाई कुटपिट गर्न थाले । मलाई किन पिटेको भनेर सोध्दा उल्टै अपशब्द बोल्दै प्रहरीलाई सिकाउने भन्दै छाती, हात, खुट्टामा लछारपछार गरी कुटेको श्रेष्ठले बताएका छन् ।

प्रहरीले श्रेष्ठलाई हतकडी लगाएर गाडीमा राखेर मंगलापुरमा रहेको ट्राफिक बिटमा पु¥याई पुनः कुटपिट गरेको श्रेष्ठको भनाई छ । नाडी, छाती, अनुहार, खुट्टा र ठाडमा कुटपिट गरेको डाम देखाउंदै श्रेष्ठले बताए । ‘एक जना सादा पोशाकमा रहेका प्रहरीले मलाई एक्कासी कुटपिट गर्न थाले,त्यसपछि अरु प्रहरीले पनि बुट र लौराले हिर्काए,५–६ जना प्रहरी मध्ये एकजना महिला पनि थिइन्’–श्रेष्ठले भने– ‘अंध्यारो भएकाले प्रहरीको नाम हेर्न सकिन अनुहार देखे चिन्छु ।’ विना कारण कुटपिटपछि ट्राफिक प्रहरीले मापसे सेवन गरेर मोटरसाइकल चलाएको भन्दै २० मिनेटपछि एकहजार जरिवानाको चिट काटेर रकम पाएपछि प्रहरीले छाडेको उनले बताए । मापेस गरेको भए प्रहरीले अस्पतालमा लगेर मेडिकल गर्नुपर्नेमा त्यो पनि नगरेको उनले दावी गरे । विना गल्ती कुटपिट र जरिवाना भएपछि आफ्नो मानअधिकार उल्लंघन भएको र प्रहरीले ज्यादती गरेको भन्दै श्रेष्ठले कुटपिटमा संलग्न प्रहरीमाथि छानवीन गरी कारवाही गर्न माग गर्दै ईलाका प्रहरी कार्यालय बुटवल र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय बुटवलमा निवेदन दिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले श्रेष्ठलाई पिछा गरेको गाडी इप्रका बुटवल माततहको नभई जिल्ला प्रहरी कार्यालयको भएको बुझिएको प्रतिक्रिया दिए । नियन्त्रणमा लिएर कुटपिट र मानवअधिकार उल्लंघन हुने व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारवाही र २ वर्षसम्म जेल सजाय समेत हुन सक्ने कानूनी व्यवस्था छ । राष्ट्रिय मानव अधिकार आयोग बुटवल कार्यालयकी अधिकृत शैली र्गाैतमले श्रेष्ठमाथि प्रहरीको व्यवहार मानव अधिकारको ठाडो उल्लंघन भएको बताइन् ।

  •  
    27
    Shares
  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •