पानी नहुँदा बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउन समस्या

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्ष बाट शुरु गर्ने स्पष्ट पारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा भूकम्प स्मारक बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए ।

बुधबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले त्यसका लागि आवश्यक पानी, बाटो, पाटीपौवालगायतका पूर्वाधार निर्माणको कामलाई हाल प्राधिकरणले तीब्रता दिइरहेको बताए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पानीको स्रोतको व्यवस्थापनमा कठिनाई भएकाले पनि सो पार्क निर्माणको कामलाई अघि बढाउन ढिलाई भएको उल्लेख गरे ।

प्राधिकरणले भूमिहिनहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन २ लाख नगद वा उनीहरुले चाहेको ठाउँमा जग्गाको लालपूर्जा उपलब्ध गराउने कामलाई पनि अघि बढाइएको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूमिहिनलाई जग्गा उपलब्ध गराएर पुनर्निर्माणको कामलाई अघि बढाउन आवश्यक कार्यविधि तय गरिएको र त्यसलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

प्राधिकरणका अनुसार हालसम्म ८ सय जनाले पुनर्निर्माणका लागि जग्गा उपलब्ध गराउन माग गर्दै प्राधिकरणमा उजुरी दिएका छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राचीन मौलिकता नहराउने गरी सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाएको दावी गरे । उनले २ वर्ष भित्र धरहरा पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको पनि समितिलाई जानकारी गराए । प्राधिकरणले समितिलाई बुझाएको कार्य प्रगति विवरणमा निजी आवास पुनर्निर्माणको कामलाई चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने दावी गरिएको छ । त्यसैगरी सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिन सुरु गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।