‘मठमन्दिर बनाउन अंकुश, क्रिश्चियनका गतिविधिलाई बढावा’

प्रकाशित मिति:

काठमाडौं –  हिन्दू धर्मसँग सम्बन्धित संघसंस्थाहरुले सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकले नेपालको प्राचीन मौलिक धर्म र संस्कृतिलाई समाप्त गर्ने भन्दै विधेयक फिर्ता लिन माग गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिन्दू धर्मसँग सम्बन्धित आधा दर्जन संस्थाहरुलै विधेयक फिर्ता नलिए आफूहरु पनि आन्दोलनका लागि सडकमा आउने चेतावनी दिएका छन् ।

उनीहरुले अहिलेको विधेयक पारित भएमा सदियौंदेखि चलिआएका मौलिक सांस्कृतिक परम्परा, जात्रा, पर्व र सनातन वैदिक यज्ञ परम्परा नासिँदै जाने र विधर्मीहरुको आक्रमण बढ्दै जाने दाबी गरेका छन् । “गुठी सम्पदाको वास्तविक मर्मलाई विचारै नगरी गुठीको नाममा पूर्वजहरुले आफ्नो धर्मसंस्कृति र सनातन सभ्यताको जगेर्ना गर्न देवीदेवताको नाममा अर्पण गरेको चलअचल सम्पत्ति भूमाफिया र विधर्मीहरुलाई सुम्पने कानुनी बाटो बनाउन विधेयक ल्याई जबर्जस्ती पास गराएर लागु गर्न खोज्नु गम्भीर आपत्तिको विषय हो,” संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विधेयकले हिन्दूहरुको मात्र नभई बौद्ध र मुस्लिम सबैको परम्परा समाप्त गर्ने सनातन विद्धत परिषद् नैपालका सचिव डा. धु्रवप्रसाद मिश्रले बताए । उनले विधेयकको दफा २४, दफा २७, दफा ५६ (९) र दफा ६४ (३) आपत्तिजनक भएको उनले बताए । विधेयक संविधानको धारा २६ को उपधारा १ मा प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ भन्ने धार्मिक स्वतन्त्रताको हकविपरीत भएको दाबी पनि गरे ।

उनीहरुले विधेयकले मठ मन्दिर बनाउन नै अंकुश लगाउने प्रावधानले क्रिश्चियनहरुको गतिविधिलाई बढावा दिने बताएका छन् । विधेयकले नेपालको परिचय लोप गराउने, प्राचीन मौलिक धर्म संस्कृतिलाई हानी गर्ने ज्योतिष वासुदेवकृष्ण शास्त्रीले बताए । “पहिला धर्म संस्कृतिमाथि संवैधानिक रुपमा आक्रमण गरियो । अहिले कार्यान्वयन गरिँदैछ,” उनले भने, “उपत्यकामा नेवार समुदायले गरिरहेको आन्दोलनमा हाम्रो ऐक्यवद्धता छ । हामी पनि माइतीघर मण्डलामा जाने बेला आएको छ ।” विधेयकले सनातन धर्मसंस्कृति र परम्परा निजी गुठीबाट सञ्चालित विद्यालय, गुरुकूलबाट सञ्चालित विद्यालयसमेत समाप्त गर्ने पनि उनले बताए । हिन्दू जागरण अभियानका रामकृष्ण उपाध्यायले विधेकयले मौलिक संस्कार र संस्कृतिमाथि प्रहार गर्दै निमिट्यान्न पार्न सरकार लागेको आरोप लगाए ।