सकियो डम्बर स्मृति खुल्ला व्याडमिण्टन प्रतियोगिता

प्रकाशित मिति:

गुल्मीको सदरमुकाम तम्घासमा विहिवारदेखि संचालन भएको डम्बर स्मृति खुल्ला व्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल व्याडमिण्टन संघ गुल्मीको आयोजनामा बिरभद्रजंग गुल्मका सेनानी जनमत कार्किले आफ्ना स्वर्गीय पिताको स्मृतिमा प्रतियोगिताको सम्पूर्ण खर्च आफैले व्यहोरेर उक्त प्रतियोगिता संचालन गर्नु भएको हो ।
प्रतियोगितामा सहभागि भएका टिम समूहहरु मध्य भेट्रान ग्रुपबाट बालसिंङ काउछा र हरिप्रसाद पाण्डे, ए प्लस ग्रुपवाट लालमणि पन्थी र शुरेस श्रेष्ठ, एबाट ओसन काउछा र दुर्गा श्रेष्ठ, बीवाट कृष्ण थापा र धन बहादुर टण्डन र सी ग्रुपवाट प्रकाश बस्नेत र विनोद महतको टिम प्रथम बनेका छन् । त्यसैगरि दोश्रो हुने टिम समूहहरुमा भेट्रान ग्रुपबाट श्रीप्रसाद भलामी र बासुदेव कुँवर, ए प्लसवाट भरत भलामी र राजन काउछा, एवाट पुर्ण बुढाथोकी र किरण बुढाथोकी, बीवाट कृष्ण पन्थी र चर्तुभुज पन्थी र सी ग्रुपवाट प्रगति श्रेष्ठ र सन्तोष थापा रहनु भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमका सहभागिहरुलाई रेसुंगा नगरपालीकाका प्रमुख डिल्लीराज भुसाल र सेनानी जनमत कार्किले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित सम्मान प्रदान गर्नु भएको थियो । खेलाडीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्दै रेसुंगा नगरपालीकाका प्रमुख भुसालले यस्ता प्रकारका खेल प्रतियोगिताहरुले खेलाडीहरुमा हौसला थपिनुका साथै खेल प्रति खेलाडीहरुमा रुचि समेत बढ्दै जाने भन्दै यसको संरक्षण र संवद्र्धनका लागि आफुहरुले पनि स्थानीय निकायहरुवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
प्रतियोगितामा विजयी बनेका टिमहरुले आफुले प्राप्त गरेको सम्पूर्ण नगद पुरस्कार स्थानीय दुई जना मृगौला पीडितको उपचारका लागि सोही कार्यक्रममा उनका आफन्तहरुलाई हस्तान्तरण गरेका थिए । जिल्ला व्याडमिण्टन संघ गुल्मीले पनि मृगौला पीडितहरुको उपचार सहयोगका लागि ५९ हजार रुपैया सहयोग गरेको जिल्ला व्याडमिन्टन संघ गुल्मीका अध्यक्ष महेश काउछाले बताउनु भएको छ । तम्घासमा विहिवारदेखि शुरु भएको उक्त प्रतियोगितामा जिल्ला भित्रका विभिन्न नगरपालीका र गाउँपालीकाहरुवाट गरि ६० टिमहरुको सहभागिता रहेको थियो ।