यो गर्मी मौसममा कोल्ड ड्रिन्क्सको सट्टा दही र मोही पिउनु अति उत्तम

प्रकाशित मिति:

♦ डा. अरुणा उप्रेती – 

गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन् । यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ । कोक, फेन्टालगायतका पेय पदार्थले त असर गर्छ नै, बट्टामा राखिएका फलफूलको जुसले पनि धेरै असर गर्छ भनेर प्रमाणित भैसकेको छ ।हामीले फलफूलको जुस त तागतिलो हुन्छ भनेर खान्छौं, तर त्यो कुहिएको फलफूललाई कच्याकुचुक्क बनाएर राखेको हुन्छ । बिरामी भेट्न जाँदा यो त राम्रो भनेर लिएर जान्छौं, तर त्यो कुहिएको फलफूल लिएर जाने हो ।

त्यस्तो खालको जुसमा ८० प्रतिशत चिनी मात्रै हुन्छ । चिनीको झोल खानको लागि हामीले धेरै पैसा तिरेका हुन्छौं । अहिले त स्कुलको खाजामा पनि यस्ता खालको जुसको विज्ञापन रहेको हुन्छ । त्यसले पनि बालबालिकाको मनोविज्ञानमा असर गरेको हुन्छ । जुस बनाउने ड्रममा कुहिएको फलफूल भेटियो भनेर पनि कहिलेकाहीँ आइरहेको हुन्छ । त्यसैले आमा बाबु पनि सचेत हुनु पर्छ । कुनै हालतमा पनि राम्रो फलफूलको जुस हुँदैन । भए पनि कुहिएको फलफूलको जुस हुन्छ । त्यसैले यस्तो जुस दिनु भनेको आफ्नै छोराछोरीको स्वास्थ्यमा खेलबाड गर्नु हो ।

गर्मीमा के खाने ? बजारमा पाइने जुसको सट्टामा घरमा नै हुने दही, मही बालबालिकालाई दिनुपर्छ । आफूले पनि यस्तै खानुपर्छ । यस्तै जौको सातु र सर्बतले पनि गर्मी मौसममा धेरै फाइदा हुन्छ । यसमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ, रेसादार पनि हुन्छ । भने शरीरलाई उर्जा पनि दिन्छ ।

ध्यान दिनुपर्ने कुरा : अहिले फलफूल पेलेर निकालिएको जुस पिउने चलन पनि बढेको छ । यसरी जुस पिउँदा पहिला नै पेलेर राखेको छ भने पिउनु हुँदैन । पेलेर जुस पिउनुभन्दा फलफूल आफैले चपाएर खाँदा राम्रो हुन्छ । तर कहिलेकाहीँ पिउँदा आफैँले वा आफ्नै अगाडि पेलेर पिउनुपर्छ । बाहिर पिएको फलफूलको जुसले झाडापखाला लाग्ने भएकाले सबै सचेत हुनु पर्छ ।

(पोषणविद् डाक्टर अरुणा उप्रेतिसँगको कुराकानीमा आधारित)