प्रदेश सांसदको प्रश्न : ढुंगा गिट्टीको मनपरी उत्खनन् हुंदा सरकार किन मौन ?

प्रकाशित मिति:

बुटवल । प्रदेश सभा सांसदले खोला÷नदीहरुबाट मापदण्ड मिचेर ढुंगा गिट्टीको मनपरी उत्खनन् हुंदा पनि तीनै तहका सरकार किन मौन बसेको भनी प्रश्न उठाएका छन् । प्रदेश सभाको बिहीबारको वैठकमा विशेष समय लिएर बोल्दै पश्चिम नवलपरासीका सांसद बैजनाथ कलवारले प्रदेश ५ का खोलानाला र नदीहरुबाट सरकारको मापदण्ड र कार्यविधि मिचेर ढुंगा गिट्टीको उत्खनन् भइरहेपनि प्रभावकारी अनुगमन र कारवाहीमा कसैले चासो नदिएको बताए ।

‘ठेकेदारले मनपरी तरिकाले खोलाहरु उत्खनन् गरिरहेका छन्, अनुमति लिएको भन्दा १० गुणा बढी मात्रामा ढुंगा गिट्टी निकालेर पचासौं ठाउंमा थुपारिएको छ’–सांसद कलवारले भने–‘सांसदहरुले अनुगमन गर्दा पनि थुप्रै ठाउंमा मापदण्ड मिचेर मनपरी गरेको भेटायौं र प्रतिवेदन बुझायौं तर एकजनालाई पनि कारवाही भएको छैन ।’ राष्ट्रिय गौरवका आयोजनाका नाममा दर्जनौं स्थानमा ढुंगा गिट्टी जम्मा गरेर राख्ने र अन्यत्र विक्रि गर्ने गरिएपनि सरकारको संरक्षणका कारण कारवाही हुन नसकेको सांसद कलवारले आरोप लगाए । ‘नदीजन्य पदार्थको अनियमिततामा वडा देखि केन्द्रसम्म सत्तारुढ दलको संरक्षण छ,त्यही भएर लेखा समितिले गरेको कारवाहीको सिफारिस पनि कार्यान्वयन गरिंदैन’–कलवारले भने–‘नदीनाला र वन माफियाको कब्जामा गइसके,तैपनि प्रदेश ५ सरकारले कुनै कदम चाल्दैन,यसलाई मिलेमतो नभने रके भन्ने ?’ प्रदेश सरकारले आफैले बनाएको मापदण्ड र कार्यविधि ठेकेदारले उल्लंघन गर्दा पनि मुकदर्शक बस्नुले सरकारको औचित्यमाथि प्रश्न उठेको उनले टिप्पणी गरे ।

नेकपा नेता नै भन्छन् :  पार्टी नेताकै मिलेमतो छ
रुपन्देहीका देवदहको घोडाहा लगायत विभिन्न नदीमा अहिले भइरहेको ढुंगा गिट्टीको मनपरी उत्खनन् र भण्डारणमा सत्तारुढ दलकै वडा देखि जिल्ला र केन्द्रसम्मका नेताहरुको मिलेमतो र संरक्षण रहेको सत्तारुढ नेकपा रुपन्देहीका सदस्य गोबिन्द पंगेनीले बताए । वातावरणीय प्रभाव मतलवै नगरी अनुमति लिए भन्दा कैयौं गुणा बढी ढुंगा गिट्टी निकाल्न दिएर त्यसवापत ठूलै रकमको चलखेल नेताहरुले गरेको पंगेनीले दावी गरे । ‘हामी यसबारे पार्टीमा लिखितरुपमै ज्ञापनपत्र बुझाउंदैछौं’–पंगेनीले भने–‘नदी उत्खनन् गर्न दिंदा प्रभावकारी अनुगमन नगर्ने हो र ठेकेदारलाई मनपरी गर्न छुट दिने हो भने वातावरणीय विनाश निम्तिन्छ ।’

प्रहरीलाई नै धम्काउंछन् ठेकेदार
देवदहको घोडाहा खोलाबाट ढुंगा गिट्टी उत्खनन्को ठेक्का पाएका टीएसएल कम्पनीका एक संचालकले अनुगमन गर्न जाने प्रहरीलाई नै धम्की र चुनौति दिने गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख प्रहरी निरीक्षक हेम केसी बताउंछन् । ‘राजयको सम्पत्ति लुटेर आर्जन गरेको पैसाको आडमा उनीहरुले सुरक्षाकर्मीलाई समेत अनुगमनमा चुनौति दिन्छन्’–केसीले भने–‘प्राकृति स्रोत र साधनमाथि ठेकेदारहरुको मनपरी नरोक्ने हो भने राज्यको राजस्वको स्रोत गुम्ने र अर्थतन्त्र टाट पल्टेर संघीयता असफल हुन्छ ।’