सुपुर्दगी विधेयकविरुद्ध हङकङमा आन्दोलन

प्रकाशित मिति:

हङकङ – हङकङमा सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले हिंसाको रूप लिँदा सडकमा विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ । सुपुर्दगीसम्बन्धी विधेयकको विरुद्धमा सडकमा उत्रिएका प्रदर्शनकारीले सरकारी भवन वरपरका मुख्य सडकहरु अवरुद्ध पार्दै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि रबरको गोली र अश्रुग्यास प्रहार गरिएको प्रहरीले बताएको छ।

हङकङ सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारेको सो विधेयकलाई अघि बढाउँदैछ। विधेयक पारित भएसँगै मुख्य भूमि चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन सहज तुल्याउने छ।विधेयक जुन २० मा हुने अन्तिम मतदानपछि पारित हुने अनुमान गरिएको छ।यद्यपि विरोधका स्वर बाहिरिएपछि हङकङको विधायिका परिषद्ले उक्त विधेयकमाथिको दोस्रो छलफलमा केही ढिलाइ गरेको बिबिसीले उल्लेख गरेको छ।बेइजिङ समर्थक विधायिका परिषद्ले भनेको छ बुधवार हुने भनिएको परिषद्को बैठक अब ‘पछि कुनै समयमा’ हुनेछ।तर बैठक कहिले हुन्छ भन्नेबारेको समय भने निर्धारण गरिएको छैन।

हङकङमा प्रदर्शनकारीविरुद्ध रबरको गोली प्रयोग भएको दशकौंपछि यो पहिलो घटना हो।सुरक्षा फौजले बुधबार गरेको बल प्रयोगका कारण यो समाचार तयार पार्दासम्म २२ जना घाइते भएका छन्।भने कोही पनि घाइते चिन्ताजनक अवस्थामा भने नरहेको बताइएको छ।