पास्नीको भोज खाँदा ३० भन्दा बढी बिरामी, १९ को अवस्था जटिल

प्रकाशित मिति:

धादिङ /नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा पास्नीको भोज खाएकामध्ये ३० भन्दाबढी बिरामी परेका छन् ।बुधबार रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० भन्दाबढी बिरामी परेको र १९ जनाको अवस्था जटिल भएकाले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए ।

भोज खाएपछि अचानक बिरामी पर्न थालेपछि १९ जनाको अवस्था जटिल भएकाले बिहीबार अबेर मात्र जिल्ला अस्पताल लगिएको थियो । बिरामीमा दिसा पातलो हुने, बान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ ।बिरामीमध्ये भारमाले र सुकौरा गाउँका मात्र २० जना रहेको उपचारमा संलग्न सुजन घलेले बताए । घटना कसरी भयो भन्नेबारे अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।