शुक्रबार रिलिज भए २ फिल्म : ‘प्रेम दिवस’ र ‘झट्का’

प्रकाशित मिति:

बुटवल – आज शुक्रबार अर्थात् नयाँ फिल्म रिलिज हुने दिन । आजबाट दुई चलचित्र ‘प्रेम दिवस’ र ‘झट्का’ ले एकसाथ प्रदर्शन सुरु गरेका छन् । दुबै चलचित्र विना प्रचार प्रदर्शनमा उत्रिएका हुन् । भने, दुबै सिंगल थिएटर केन्द्रित चलचित्र हुन् । दुई चलचित्रको जनरा भने फरक छ । ‘प्रेम दिवस’ लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा ‘रियल कपल’ प्रियंका कार्की र आयुष्मान देशराज जोशीको प्रमुख भूमिका छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको यो चलचित्रबाट विशाल खरेलले डेब्यू गरेका छन् । प्रदीप भारद्वाजद्वारा लिखित चलचित्रलाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन् । उक्त चलचित्रले सिंगल थिएटरसँगै मल्टीप्लेक्समा पनि शो हात पारेको छ । तर, न्यून । क्यूएफएक्सले यसलाई शुक्रबार ४ शो बाँडेको छ ।

यस्तै, चलचित्र ‘झट्का’ लाई रमेश बिसुङ्खेले निर्देशन गरेका हुन् । उनकै कथामा फिल्म बनेको हो । चलचित्रले काठमाडौंको रात्री जीवनको कथा वाचन गरेको छ । चलचित्रमा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठलगायतको अभिनय छ । चलचित्रमा सुरविरको गेटअप निकै फरक छ । यसमा उनले नेगेटिभ रोल निभाएका छन् । जीवन पराजुलीले खिचेको चलचित्रको निर्माता तुलसीलाल नेवा हुन् ।