उपसभापति निधि डेनमार्क प्रस्थान

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको बिहीबार डेनमार्कको राजधानी कोपनहेगनतर्फ प्रस्थान गर्नुभएको छ । निधिको नेतृत्वमा एक प्रतिनिधिमण्डल प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका डेनमार्क प्रस्थान गरेको हो । डेनमार्कको बर्नहोल्ममा यही जुन १३ देखि १७ तारिखसम्म हुने मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहितका नेताहरू त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

डेनिस इन्स्टिच्युट फर पार्टिज एण्ड डेमोक्रेसी ‘डीआईपीडी’ को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन निधिसहित नेता डा. मीनेन्द्र रिजाल, चित्रलेखा यादव र विनोद भट्टराई त्यसतर्फ लाग्नुभएको हो । प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभवबारे अध्ययन भ्रमणका सहभागीलाई जानकारी गराइने कार्यक्रम रहेको छ । मेलामा नेपालसहितका विभिन्न मुलुकका नेताको सहभागिता रहने छ ।

डीआईपीडीको सदस्य बनेको नेपाल डेनमार्कबाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको दलहरूको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो । कार्यक्रममा प्रशिक्षणका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र यसको नेपालमा पर्ने प्रभाव, विश्वको बदलिँदो राजनीति, दक्षिण एसिया र नेपाल, समाजवादमा युरोप अनुभव विषयमा अन्तरक्रिया कार्यक्रम गरिनेछ ।