बुटवल उपमहानगरद्वारा अदालतको अवहेलना

प्रकाशित मिति:

बुटवल/ उपमहानगरपालिकाले बिहीबार डोजर लगाएर १६ परिवार वस्दै आएको वस्ती विस्थाािपत गरेको घटनाको प्रदेश सभा वैठकमा विरोध भएको छ । वैठकमा विशेष समय लिएर बोल्दै समाजवादी पार्टी नेपालका सांसद सन्तोषकुमार पाण्डेले बुटवल उपमहानगरपालिकाले अदालतमा मुद्दा विचारधीन रहेको अवस्थामा प्रहरीको सहयोगमा वर्षौंदेखि बस्दै आएका बासिन्दालाई विस्थापित गरेको भन्दै विरोध जनाए ।

बुटवल उपमहानगरपालिकाले अदालतको अवहेलना गरेको दावी गर्दै सांसद पाण्डेले सबैले कानूनको पालना गर्नुपर्र्ने बताए । वर्षायाम लाग्नै लाग्दा उपमहानगरले मानवीय संवेदना समेत बिर्सेर विना विकल्प उनीहरुलाई विस्थापित गरेको भन्दै सांसद पाण्डेले आपत्ति जनाए । २०२८ सालदेखि बस्दै आएका आफ्ना नागरिकलाई वैकल्पिक व्यवस्था विना घरवारविहीन गराउने उपमहानगरपालिकाको कदम निन्दनीय भन्दै सांसद पाण्डेले विस्थापित गराइएका परिवारलाई पुनस्थापित गर्ने दायित्व उपमहानगरपालिकाको भएको भनाई राखे । संसदमा बोल्नु अघि सांसद पाण्डे र राजपाकी सांसद कल्पना पाण्डे लम्साल उपमहानगरले डोजर लगाएर हटाएको बुटवल १ स्थित वस्तीमा पुगेर विस्थापितहरुका गुनासा सुनेका थिए ।

त्यहां पुग्दा विस्थापित भएका परिवारले सांसदद्वयसंग आफूहरुको अन्य बस्ने जग्गा नभएको भन्दै बसोबासको व्यवस्थाको पहल गरिदिन अनुरोध गरेका थिए । बुटवलको जामे मस्जिद अगाडि साविक बिटौरी कित्ता नंं ८३ को २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बसिरहेका बासिन्दालाई बुटवल उपमहानगरले बिहीबार डोजर चलाएर हटाएको थियो ।