हराउँदै गएको मादल संस्कृतीलाई सम्हालेका यी कालिगढ

प्रकाशित मिति:

 प्रेम पुन्थोकी
तम्घास\बाग्लुङ्ग गल्कोटका दिल बहादुर नेपालीले गुल्मीको तम्घासमा मादल बनाएर बेच्ने व्यवसाय संचालन गरेको दश बर्ष भयो । उनको संझना र सम्पर्कमा मादल मात्रै बनाएर गुजारा चलाउने उनी मात्रै हुन् । किन ? अरुले मादल बनाउँदैनन् ?दिल बहादुर भन्छन् ‘मादलको माग बढि हुने समयका बाग्लुङ्ग, गुल्मी , अर्घाखाँचीका बिभिन्न गाउँमा मादलहरु बनाउने धेरै छन् तर उनीहरु बाँकी समयमा अरु काममा पनि लाग्छन् ।’ त्यसो त उनको हातमा पनि अन्य सिपहरु छन् । जीवनको आधा उमेर भारतमा जागिर र मिस्त्री काम गरेर बिताएका ५७ बर्षे उनी दश बर्ष देखी अरु काम गरेनन् । कुनै अत्यावश्यक काम पर्दा घर जाने नत्र घर पुग्न दशैं नै कुर्ने उनी आफ्नो सबै समय मादल बनाउन मै खर्चन्छन् । बजारमा माग बढि भएर उनको व्यस्तता बढेको हो ? दिल बहादुर भन्छन् ‘ अहिले मादल बनाउने मान्छे कम हुँदै गए , जति माग हुन्छ त्यसको लागि आवश्यक सामाग्रीको जोहो र निर्माण मर्मत मै समय जान्छ ।’ तर अहिले मादलको माग नगन्य रहेको उनको तर्क छ । अहिले दुख्खले बर्ष भरिमा १५० सम्म मादल बनाएर बेच्ने गरेको बताउने उनको संझनामा कुनै समय बाग्लुङ्गको चैते दशैं मेलामा बाह्र— पन्ध्र सय मादल बेचेको याद ताजै छ । तीज , तिहार त्यो समयमा बढि माग हुने थप अवसर थिए । यो त तीजको समय अलि बढि माग होलानी ? मादलमा खरी लगाउँदै गरेका उनले एक छिन् घोरिएर भने , ‘यसै भन्नुपर्यो तर बढि पनि हैन सबै तिर डेग (साउण्ड सिस्टम) र मोवाइलमा तीजका गीत बज्न थाले मादलै त कसले खोज्नु ?’ एउटा मादलको निर्माण तयारी पुरा गर्न चार पाँच दिन खर्चिने बताउने उनले बिक्रीबाट कति कमाउँछन् त ? ‘एउटा मादल सानोको पच्चिस यस देखी ठुलोको चार हजार सम्म’ नेपालीले थपे ‘मेरो लगानी, ज्याला, आम्दानी जे भन्नुस् त्यही हो ’ । मादलका लागि आवश्यक कच्चा पदार्थको जाहो त्यति सजिलो छैन । मादलको लागि आवश्यक काठ (खमारी जातको रुख) खोज्दै उनी गाउँ चहार्छन् । मादलको लागि आवश्यक पुरोको लागि बाख्राको छाला र तनाको लागि उँटको छाला , आवश्यक रिङ्ग भारतीय व्यापारीहरुबाट खरिद गर्नुपर्छ । उनका अनुसार यो नाफाको काम भन्दा पनि पेशाको निरन्तरता हो । प्राय ः मादल कहिले काँही डम्फु बनाएर बिक्री गर्ने उनी नयाँ मादल भन्दा पनि कोही पुरानो मादल बनाउन आयो भने हौसिन्छन् , उनी भन्छन् ‘हामीलाई अलि अलि नाफा हुने भनेकै मर्मत को कामले हो ’ । आठ सन्तानका बाबु दिल बहादुरका आधा सन्तान आ—आफ्नो बाटोमा लागे आधा उनकै आश्रयमा छन् । आफ्ना हजुर बुवाबाट ४० बर्ष अगाडि यो काम सिकेका उनले आफ्ना सन्तानलाई सिकाए त? ‘मैले मात्र हैन कसैले सिकाएको छैन् ’ नेपाली थप्छन् ‘यो गुजारा र दुख्खको व्यवसायहो, यो काम गरेर माथि पुग्न सकिन्न ’ । उनी पछिको पुस्ताले मादललाई एकादेशको कथा बनाउने कुरामा उनी ढुक्क छन् , भन्छन् ‘अहिले जसले यो काम गरेकाछन् , ति सबै मेरा उमेरका छन्’। तम्घास मिलनचोकको उकालोमा बाटैमा जोडिएको सानो साँघुरो कोठामा उनको दिन जन्मन्छ, ढल्छ, मासिक ३ हजार भाडा तिर्ने त्यही साँघुरो कोठामा भान्सा, बिस्तारा, मादल, मादल बनाउने सर्जम सबै अटाएकाछन् । जे होस् आफ्नो हातको सिप परम्परा धान्दै अगाडि बढाउनु भएको छ , पंत्तिकारको प्रश्नमा दिल बहादुर असन्तुष्टि थप्दै भन्छन् ‘ भनम् तर उमेर भएका र केही गरि खान सक्नेलाई यो काम ठिक छैन’ । हराउँदै गएको मादल संस्कृती संरक्षणमा दिन रात खटिरहेका उनी जस्ता कालिगढको सहयोगमा कतैबाट केही पहल भएको छ , कि छैन होला ?पुस्तौं देखी धान्दै आएको यो पेशाका यि पेशाकर्मीलाई समाजले हेर्दै आएको तल्लो स्तरको कु(सम्मान) फेरिए होला कि उस्तै होला ? सोध्न बाँकी रहँदै कुरा गर्दा गर्दै एक्कासी बाहिरिएका दिल बहादुर केही समयको पर्खाई सम्मै फर्किएनन् ।