उपचारका क्रममा सिद्धार्थनगर सिटी हस्पिटलमा बिरामीको मृत्यु,अस्पताल तनाव ग्रस्त

प्रकाशित मिति:

भैरहवा/सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.भैरहवामा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपश्चात अहिले अस्पताल तनाव ग्रस्त भएको छ । सियारी गाउँपालिका वडा नं ३, जङहथ्थाका २६ बर्षिय विरेन्द्र अग्रहरीको यहि जेठ ३१ गते शुक्रबार बेलुका करिक ६ बजे मृगौला डाईलासिस गर्ने क्रममा मृत्यु भएको हो । अस्पतालको लापरवाहीका कारणले आफ्नो भाईको मृत्यू भएको मृतकका दाजु सुरेन्द्र अग्रहरीले दावि गरेका छन् ।

यहि जेठ २८ गते अस्पतालमा भर्ना भएका विरेन्द्र अग्रहरीलाई अस्पतालका मृगौला रोग विशेषज्ञ डा. सुबोध कुमार पाण्डेले सोही दिन पहिलो पटक डाईलासिस गरेका थिए र ३१ गते डा. पाण्डेको अनुपस्थितिमा अन्य स्वास्थ्यकर्मीले डाईलासिस गर्ने क्रममा उनको मृत्यु भएको परिवारको दावि छ । यसरी सम्बन्धित विशेषज्ञको अनुपस्थितिमा स्वास्थ्यकर्मीले डाईलासिस गरेर बिरामीलाई मृत्युको मुखमा पु¥याउने अस्पताल र चिकित्सकलाई कारवाही हुनुपर्ने माग परिवारको रहेको छ ।

यस्तो रह्यो घटनाक्रम 

परिवारका अनुसार गत जेठ २८ गते निज विरेन्द्र अग्रहरीलाई परिवारका सदस्यहरुले बुटवल अबस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचारका लागि लिएर गए । त्यहाँ चिकित्सकहरुले बिरामीको डाईलासिस गर्नुपर्ने बताए पछि परिवारका सदस्यहरुले उनलाई भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मा ल्याए र भर्ना गरे । २८ गतेका दिन नै बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. सुवोध कुमार पाण्डेले निज विरामीको डाईलासिस गरे । ३१ गतेका दिन बिरामी विरेन्द्र अग्रहरीलाई डाईलासिस गर्नका लागि चार पिन्ट ‘ओ’ पोजिटीभ रगत चाहिने भएकाले परिवारले सो को पनि व्यवस्था गरेर अस्पतालमा ४ पिन्ट रगत बुझाए । ४ पिन्ट रगत को व्यवस्था भए पछि उनको डाईलासिस सुरु गरियो तर बरिष्ठ मृगौलारोग विशेषज्ञ डा.सुवोध कुमार पाण्डेको अनुपस्थितीमा । २ पिन्ट रगत चढाईसकेपछि उनको डाईलासिस सुरु गरियो तर अन्य बिरामी डाईलासिसका लागि आएको भन्दै उनको डाईलासिसलाई बीचमै छोडियो र करिब ३ घण्टा पर्खाइयो र पुन डाईलासिस गरिएन । यसै क्रममा बेलुका करिब ६ बजे २६ बर्षिय विरेन्द्र अग्रहरी यो संसार बाट बिदा भए । डाईलासिस गर्दा बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. सुवोध कुमार पाण्डेको उपस्थिती नरहेको मृतकका आफन्तको भनाइ छ ।

यसो भन्छन् चिकित्सक

गत जेठ २८ गते सिटी हस्पिटलमा भर्ना भएका बिरामी विरेन्द्र अग्रहरीको डाईलासिस अगाडि रगतमा क्रियटीनाईनको मात्रा करिब १४ रहेको र डाईलासिस पछि क्रियटीनाईनको मात्रा ४ मा झरेको अस्पतालका मेडिकल अफिसर डा.अमित चतुर्बेदीले बताए । ३१ जेठमा निजको क्रियटीनाईनको मात्रा घटेको हुँदा उनी भन्दा बढी सिरियस बिरामीको डाईलासिस अगाडि गरिएको डा. चतुर्बेदीले स्विकार्छन । अग्रहरीको डाईलासिस गर्नका लागि बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. सुबोध कुमार पाण्डेले ३१ गते बिहानै आफुहरुलाई निर्देशन दिएर आफु बाहिर जानुभएको उनले बताए । हामीबाट केही कमजोरी भएको छैन चिकित्सकले हरेक बिरामीलाई राम्रो होस भन्ने चाहन्छ र हामीले त्यही धर्म निभाउँदै आएका छौँ उनको भनाई छ । हामीले उहाँलाई बचाउने धेरै प्रयास गरेका हौँ तर बेलुका ७ः४० मा उहाँलाई मृत घोषणा गर्न बाध्य भयाँै डा. चतुबेर्दीले भने ।सम्बन्धित विशेषज्ञको निगरानी बिना र केवल निर्देशनको भरमा के डाईलासिस गर्न पाईन्छ त भन्ने जिज्ञासामा डा. चतुर्बेदीले अन्य अस्पतालमा पनि यसरी नै डाईलासिस गर्ने गरेका छन् भन्ने गैरजिम्मेवारी पूर्ण उदाहरण दिन पनि पछि परेनन् । अस्पतालका निर्देशक अर्जुन पौडेलसँग यसबारेमा बुझ्न खोज्दा आाफु अहिले पोखरामा रहेकोले यस बारेमा बेलुका सम्म मात्र आफु भैरहवा आएर सबै कुरा बुझ्ने र जानकारी दिने बताउँछन् । उनले पनि डाईलासिस्को प्रकृयामा सधै सम्बन्धित विशेषज्ञ चिकित्सक बसेर अन्य अस्पतालले पनि काम नगर्ने उदाहरण दिए ।चिकित्सकको लापरवाहीका कारण सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मा बिरामीको मृत्यु भएका समाचारहरु पटक पटक आउने गरेका छन् ।