पत्रकारितामा आउने धाकधम्कीलाई म चुनौती मान्दिन

२८ श्रावण २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
120 Shares


कपिलवस्तुको घेरुवा बनगाईमा २०३७ असोज २० मा हिरालाल खरेल र बिष्णुमाया खरेलको कोखबाट जन्मिएका दीपक खरेलको बाल्यकाल नेपालगञ्जमा बित्यो। नेपालगञ्जमा कक्षा १२ सम्म अध्ययन पुरा गरेर काठमाडौं छिरेका दीपकलाई परिवारले चार्टड एकाउन्टेन्ट बनेको हेर्न चाहन्थ्यो। उनले चार्टड अकाउन्टेन्ट नेपाल बोर्डमा भर्ना भएर फाउन्डेसन कोर्स समेत पुरा गरे। सिएको इन्टरमिडियट पढदैगर्दा उनले छाडे। दीपकलाई सधै केही नयाँ गर्ने मन थियो । नेपालगञ्जबाटै उज्जयालो र कालपृष्ठ साप्ताहिकमा लेखिरहेका उनी सिएको परिक्षा हापेर जनकपुर पुगेका थिए। जनकपुरमा त्यतीबेला तत्कालिन नेकपा एमालेको सातौं महाधिबेशन भइरहेको थियो। उनले जनकपुरबाट गरेको एउटा फरक कथा त्यतीबेला हिमाल खबरपत्रिकामा छापियो । यसले उनलाई आफ्नो यात्रा तय गर्न बल पुगेको थियो। स्नातकको अध्ययन सकेर एभिन्युज टेलिभिजनबाट दीपकले सक्रिय पत्रकारिता थाले। एभिन्युजको स्थापनाकालको टिममा बसेर काम गरेका दीपक कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट र नागरिक दैनिकमा काम गरेका अनुभवी पत्रकार हुन। राष्ट्रिय सुरक्षा, अपराध, सेना र अदालत बिटमा कलम चलाउने दीपक अनुसन्धानमूलक र खोजी पत्रकारितामा बिशेष रुची राख्छन। नेपाल खबर डटकमका बिशेष संवाददाता दीपक खरेलसँग उनको पत्रकारिता यात्राको सेरोफेरोमा रहेर सबलपोष्टले गरेको कुराकानी

पत्रकारितामा कसरी आउनु भो यहाँसम्म आइपुग्दा कतिको चुनौती खेप्नुपरेको छ ?
मेरो हजुरवुवा स्वर्गिय जर्नादन अधिकारी पत्रपत्रिका नियमित घरमा ल्याउनु हुन्थ्यो। मलाई पढने रुची थियो। सायद १० मा पढदा हो, हामीले नेपालगञ्जमा नवप्रतिभा प्रर्वद्धन केन्द्र भनेर संस्था खोलेका थियौं । त्यहीबेला साहित्यमा रुची थियो। हामीले दौतरी भन्ने साहित्यीक मासिक पनि छाप्यो। म यहीक्रममा अग्रज पत्रकार नरेन्द्रजंग पिटर, रेशम बिरही, राजेन्द्र ज्ञवाली र खासगरी जे पाण्डेबाट प्रभावित थिए। पाण्डे दाईले लेखेका खोजमुलक सामाग्री र त्यसको प्रभावले अमिट छाप छाडेको थियो। यस्तै त्यतीबेला प्रकाशित भएका साधना र हिमाल साउथ एशियाका खोजमुलक समाचार सामाग्री पढेपछि पत्रकारिताप्रतिको आर्कषक बढेको हो।
भारतीय सञ्चारमाध्यममा दिग्गज पत्रकार बिनोद दुआ र रविसकुमारबाट समेत प्रभावित थिए र छु । त्यतीबेला देशमा भइरहेको सशस्त्र द्वन्द्व, राजनीतिक घटनाक्रम, अपराधका नयाँ शैली र समाजको बदलिदो चरित्र समेतले मलाई नयाँ खोज्न प्रेरित गरे भन्छु ।
यहाँसम्म आउँदा चुनौती भनेको मैले आफुलाई एउटा संस्थामा स्थायीत्व दिन सकिन। यसमा मेरा केही कमिकमजोरी होलान। ब्यवस्थापन र प्रकाशकसँग मेरो कार्यशैलीमा आपत्ती होलान । पत्रकारितामा आउने धाकधम्कीलाई म चुनौती मान्दिन । यो पेशाको एउटा पक्ष हो। गलतलाई सही र सहीलाई गलत बनाउन थाले, अक्षर बंगाउन थाले दुश्मनी बढने हो। जे हो त्यही ठोकेर लेखेपछि अहिलेसम्म पत्रकारलाई आक्रमण गर्ने हिम्मत कसैले गर्दैन। मलाई पनि गरेका छैन्न।

यो क्षेत्रमा आएपछि के पाउनुभयो, के गुमाउनुभयो ?
म सिए बन्न काठमाडौं आएको थिए। केही समय पढे । तर मेरो रुची व्यवस्थापकिय होइन भन्ने लाग्यो। केही घटनाक्रमहरु थिए। जसले मलाई सिएको आम्दानीले भन्दा पत्रिकामा छापिने अक्षरहरुले बढी मोहित बनायो। घरमा भन्न सकिन। मलाई नेपालगञ्जकै बहुमुखी क्याम्पसमा राजनीति शास्त्र पढने इच्छा थियो। त्यहाँ पत्रकारिता थिएन। मानविकी अध्ययन र पत्रकारिता दुबैलाईसँगै लैजान चाहन्थे।
यो पेशामा आएपछि परिवारको मन अझै जित्न सकेको छैन। समयमा नपुग्ने, भनेको बेला जमघटमा सहभागी हुन नपाउने। मेरो मम्मी म जति नै खुसी भएपनि मलाई दुखी नै देख्नुहुन्छ। शायद उहाँहरुले भने जस्तै सिए बनेको भए उहाँहरुलाई अहिलेभन्दा खुसी भएको देख्थेहोला, त्यो गुमाए जस्तो लाग्छ बेलाबेला। तर ठुलो बैनी रक्षा सिए बनेर परिवारको त्यो चाहना पुरा भएको छ।
मैले यो पेशाबाट आफुले चाहेको सबै पाएको छु। मान्छे असन्तुष्टीको रसायन भएको मान्छे हो। भौतिक रुपमा मैले नपाएका कुरा यहाँ जोडन चाहन्न्। भाडाकै भएपनि सुखसाथ सुविधायुक्त घरमा बसेको छु। शरिरलाई आवश्यकता अनुसार खान पुगेको छ। छोराको पढाई र बेलाबखत घुमघाम भएको छ। यो पेशाले दिनसक्ने त्यही हो, मैले पाएको छु जस्तो लाग्छ। मेरा सँगैका साथीहरुको भौतिक उपलब्धी देखेर बेलाबेला लोभ लाग्छ तर भेटघाटमा म नै सबैको केन्द्रमा हुन्छु। मैले गाडी किनेको छैन, तर महँगो गाडीमा मलाई छोडन साथीहरुको उत्साहले मलाई खुसी राखेको छ।

यहांले पत्रकारिता सुरु गरेदेखिको कुनै अविस्मरणीय क्षण ?
मैले लेखेका समाचारले समाजमा ल्याएका परिवर्तन सबै मेरालागि अवस्मिरणीय छन्। तर एउटा घटनाले मलाई सधै पिरोल्छ। प्रहरीले म एभिन्युजमा रहँदा देशका गुण्डा समुहको एउटा गोप्य दस्तावेज बनाएको थियो। त्यो मैले हात पारे। प्रहरीको जिम्मेबार निकायले बनाएको त्यो सूची मैले टेलिभिजनमा प्रशारण गरे। त्यो सूचीमा रहेका एकजना युवा हुममुलमा प्रहरीले पक्राउ गरेको रहेछ। तर रेर्कडमा उनलाई पनि त्यही समुहको भनेर राखेको रहेछ। उनी आफ्नो व्यवसाय गरेर बसेका रहेछन्। विवाहका लागि केही हेर्न गएका केटीको घरमा उनको फोटो सहितको विवरण प्रशारण भएछ। मलाई भेटेर यर्थात सुनाए। मैले रिचेक गरे। उनको भनाईमा सत्यता थियो। मैले फेरि उनी जति पटक निर्दोश भनेपनि केही हुनेवाला थिएन। पत्रकारितामा गएको यो ‘बलण्डर’ मेरा लागि सधै सचेत गराउने कारण बनेको छ।
पत्रकारिता गर्न चाहानेलाई के सुझाव दिनुहुन्छ ?
यो पेशामा आएपछि चिनजान र निकटता भएका सरकारी अधिकारी, ब्यापारी र स्रोत पत्रकारिताका लागि मात्र हुन्। उनीहरुको निकटता तपाईले ब्यक्तीगत वा परिवारका लागि प्रयोगगर्न पाउनु हुन्न। यस्तै नेपालको पत्रकारिता उद्योग हुनेक्रममा छ। यसमा अन्य पेशामा जस्तो आर्थिक आर्कषण छैन। यो एकप्रकारले मनले खाएको पेशा हो। त्यसैले यो पेशामा आएर गुनासो राख्नु वा पेशा नै बदनामगर्ने कुकर्म भन्दा आउनु अघि सोच्नुहोस।
बिशेष गरि तपाई कुन बिषयमा कलम चलाउन मन पराउनुहुन्छ ?
राष्ट्रिय सुरक्षा र खोजमुलक पत्रकारिता मेरो रुचीको बिषय हो। यस बाहेक बेला–बेला विकास पत्रकारितामा लेख्न मन लाग्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया