सिटी अस्पतालमा तनाव ,उपचार खर्च नलिने सहमतिपछि साम्य

प्रकाशित मिति:

बुटवल /मिर्गौलाका विरामीको उपचारका क्रममा मृत्यु भइपछि सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.भैरहवामा उत्पन्न तनाव अस्पतालले सबै उपचार खर्च नलिने सहमति पछि साम्य भएको छ । सियारी गाउँपालिका वडा नं ३ जङगहथ्थाका २६ बर्षिय विरेन्द्र अग्रहरीको मिर्गौलाको डाईलासिस गर्ने क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा घेराउ र विरोध जनाएपछि तनाव उत्पन्न भएको थियो ।

अस्पतालको लापरवाहीका कारणले विरामीको मृत्यू भएको मृतकका दाजु सुरेन्द्र अग्रहरीले दावी गरेका थिए । विवादपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रतिनिधिको रोहवरमा दुई पक्षबीच भएको वार्तामा विरामीको उपचारका क्रममा लागेको सबै खर्च अस्पतालले बेहोर्ने भएपछि मृतकका आफन्त सहमतिमा आएका हुन् । जेठ २८ गते अस्पतालमा भर्ना भएका विरेन्द्रको मिर्गाैला रोग विशेषज्ञ डा. सुबोध कुमार पाण्डेले सोही दिन पहिलोपटक डाईलासिस गरेका थिए । दोस्रोपटक शुक्रबार डा. पाण्डेको अनुपस्थितिमा अन्य स्वास्थ्यकर्मीले डाईलासिस गर्ने क्रममा उनको मृत्यु भएको हो ।

मृतकका दाजु सुरेन्द्रका अनुसार शुक्रबार २ पिन्ट रगत चढाएर डाईलासिस शुरु गरिएकोमा अन्य बिरामी आएको भन्दै उनलाई छाडेर करिब ३ घण्टा पर्खाइएको र पुनः डाईलासिस नगर्दै सांझ ६ बजे तिर विरामीको मृत्यु भएको हो । मृतकका आफन्तले घटनाको छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरेका थिए ।