गर्मीले विहारमा ७१ जनाको मृत्यु, ज्वरोले शनिबार मात्रै २० बालबालिकाको ज्यान गयो

प्रकाशित मिति:

नयाँ दिल्ली – भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । औरंगावाद, गया र नवादा जिल्लामा यसरी गर्मीले मानिसहरुको मृत्यु भएको हो । जसअनुसार औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको तातो हावा लूका कारण मृत्यु भएको हो । विहार सरकारले यो तथ्यांकलाई पुष्टि नगरेपनि जिल्ला अस्पतालहरुले भने यो कुराको पुष्टि गरेका छन् । राज्यका प्रधानसचिवले सबै मृत्युको घटनाको जाँच गरिएपछि मात्रै सरकारले तथ्यांक सार्वजनिक गर्ने बताए ।

राज्य सरकराले सबै मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । विहारमै ज्वरोको कारण बालबालिकाको मृत्यु हुने क्रम अझै रोकिएको छैन । विभिन्न मिडिया रिपोर्टका अनुसार शनिबार करिब २० थप बच्चाको मृत्यु भएको बीबीसीले जनाएको छ । यस खालको समस्याले करिब एक सय जनाको ज्यान गइसकेको बताइएको छ ।