गुठी विधेयकमा कमजोरी भए सच्चिन्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । आठ दिने युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ नेपालको संस्कृति, सांस्कृतिक धरोहर, रीतिरिवाज, चाडपर्वमाथि प्रतिकूल असर हुनेगरी विधेयकमा जानेर वा नजानेर केही गल्ती भए सच्याउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘हाम्रा संस्कृतिमाथि प्रतिकूल असर पर्ने गरी सो विधेयकमा कहीँ कतै केही आएको भए सरकारले सच्याई हाल्छ,’ उनले भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, जनताको मन हसाँउन हो, त्यसकारण कहीँकतै केही नपुगेको देख्दा त्यो मौका आयो कि भन्नु बेकार हो । सरकारले त्यस्ता कुरालाई तत्काल सच्याउँछ ।’

प्रधानमन्त्री ओलीले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन सम्बन्धि मुद्दा अदालतमा विचाराधिन रहेकाले आफूले केही पनि भन्न नमिल्ने स्पष्ट पारे । उनले वाडडबडी विमान खरिद प्रकरणका दोषीमाथि कडा कार्वाही हुने उल्लेख गरे । प्रधानमन्त्री ओलीले ८ दिन लामो युरोप भ्रमणका क्रममा स्विजरल्याण्ड, बेलायत र फ्रान्ससँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए । उनले भ्रमण फलदायी रहेको पनि बताए । स्विजरल्याण्डमा प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय श्रम संगठनको सम्मेलनलाई विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए ।